काठमाडौं । वृद्धवृद्धालाई बन्धक बनाएर लुटपाट गरेको आरोपमा ५ जना रामेछापबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेक गाउँपालिका–२ का २५ वर्षीय सुमन जर्घा मगर, रामेछापको खाँडादेवी गाउँपालिका–२ का ३२ वर्षीय दीर्घराज मोक्तान, सोही ठाउँका ३३ वर्षीय पशुपति श्रेष्ठ, झापाको दमक नगरपालिका–७ का ४४ वर्षीय पिताम्बर तहतराज र धनकुटाको बेलाहारा गाउँपालका–५ का ३८ वर्षीय दीपक भनिने गुणराज विश्वकर्मा छन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो । पक्राउ परेका सुमन काठमाडौंको एक निजी विद्यालयमा चालकको रुपमा काम गर्छन् । उनको साथबाट २५ हजार नगद र मोबाइल, बा ७३ प ८७१२ को मोटरसाइकल बरामद भएको छ । दीर्घराज बसका सहचालक हुन् । उनको साथबाट ५२ हजार २ सय र डकैती गर्ने बेला लगाएको ज्याकेट र हाफ कट्टु समेत बरामद भएको छ ।
पशुपति भने मोटरसाइकल इनड्राइभ गर्ने व्यक्ति हुन् । उनीबाट पनि मोटरसाइकल र नगद ६ हजार ४६० रुपैयाँ बरामद भएको छ । उनको लक्ष्मी सनराइज बैंकको खातामा १ लाख ३१ हजार रहेको पाइएके छ । पुराना सिक्का, सुनजस्तो औठी, बुद्धचित्तका २२ दान बरामद भएका छन् ।
पिताम्बर सुनचाँदी व्यवसाय गर्ने व्यक्ति हुन् । अर्का गुणराजबाट सुनका २ थान रिङ बरामद भएको छ । यो समूहले १८ भदौको राति १२ बजेतिर खाँडादेवी–२ मझुवा नेवारटोलस्थित ८५ वर्षीय बखतमान लामा र उनकी श्रीमती ८६ वर्षीया कान्छी माया तामाङलाई उनीहरुकै घरमा बन्धक बनाएर लुटपाट गरेको प्रहरीले बताएको छ ।
वृद्धवृद्धालाई प्लाष्टिकको टेपले मुखमा बाँधेर आँखामा पट्टी लगाएर ज्यान मार्ने धम्की दिँदै गरगरहना तथा नगद लुटेर लगेको रामेछापका इन्स्पेक्टर कमल राउतले बताए ।
यस्तै, असार १ गते राति खाँडादेवी गाउँपालिका–३ की सुन्दरी श्रेष्ठको करिब २८र३० केजीको खसी तथा भदौ ७ गते राति भिरपानीका रामबहादुर श्रेष्ठको गोठबाट करिब १५ केजीको बोका चोरी भएको घटनामा पनि पशुपति श्रेष्ठको समूहको संलग्नता रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीको सीआरएस जाँच गर्दा पशुपति श्रेष्ठविरुद्ध प्रहरी वृत्त कालीमाटीमा डाँका तथा चोरी कसुरमा मुद्दा चलेको देखिएको छ। दीर्घराज मोक्तानविरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापमा अभद्र व्यवहारसम्बन्धी मुद्दा चलेको पाइएको प्रहरीले जनाएको छ।
त्यस्तै, दिपक भनिने गुणराज विश्वकर्माविरुद्ध प्रहरी वृत्त बौद्ध, काठमाडौंमा जुवासम्बन्धी कसुरमा मुद्दा चलेको देखिएको छ।
















प्रतिक्रिया