Logo

अर्थ

पूँजी बजार सुधारका लागि कानुनी उपाय पेस गर्न अर्थमन्त्रीको निर्देशन



काठमाडौँ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले पूँजी बजारको विकास र सुधारका लागि आवश्यक कानुनी तथा नीतिगत उपाय पहिचान गरी पेस गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

अर्थ मन्त्रालयमा सोमबार नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डका उच्च अधिकारीसँग छलफल गर्दै अर्थमन्त्री वाग्लेले पूँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन आवश्यक सुधारका विषयमा सुझाव पेस गर्न निर्देशन दिएका हुन्।

छलफलमा पूँजी बजारको वर्तमान अवस्था, देखिएका समस्या तथा बजारको विकासका लागि चाल्नुपर्ने कदमबारे छलफल भएको थियो। अर्थमन्त्री वाग्लेले बजारको विकाससँगै लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने गरी कानुनी र संस्थागत सुधार अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा। गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा पौडेल सहभागी थिए।

अर्थ मन्त्रालयका अनुसार छलफलमा पूँजी बजारको दिगो विकासका लागि आवश्यक कानुनी व्यवस्था, नियामकीय सुधार तथा बजारलाई थप प्रभावकारी बनाउने उपायबारे समेत विचारविमर्श भएको थियो।

अर्थमन्त्री वाग्लेले सम्बन्धित निकायबीच समन्वय गरी पूँजी बजारमा देखिएका समस्या समाधानका लागि ठोस प्रस्ताव तयार गर्न निर्देशन दिएका छन्। त्यसका आधारमा आवश्यक कानुनी तथा नीतिगत सुधार अघि बढाउने सरकारको तयारी रहेको जनाइएको छ।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार १९:१८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।