काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजी आन्दोलनले उठाएका विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानका मुद्दाबाट आफूहरू एक इन्च पनि विचलित नहुने बताएका छन् ।
आन्दोलनको १ वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै उनले आजको दिनलाई नेपाली इतिहासमा एउटा नयाँ जागरणको विस्फोट भएको दिनको रूपमा लिएका छन् ।
‘एक थोपा पनि रगत नबगाई पार्टी स्थापना गरेका हामीलाई, परिवर्तनको आवाज बोल्दा युवा पुस्ताको रगत बगेको देख्नु सबैभन्दा पीडादायी क्षण हो। भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्। परिवर्तनका लागि अब यो देशमा कुनै पनि आमाको काख नरित्तियोस् भन्ने कामना गर्दै नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचारमुक्त समाजको माग गर्दै आवाज उठाउँदा जीवन गुमाउन पुगेका सम्पूर्ण अमर सहिदहरूप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, कर्तव्य पालनका क्रममा ज्यान गुमाउने अमर प्रहरीहरूप्रति पनि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु,’ उनले भनेका छन्।
उनले आन्दोलनमा घाइते भएकाहरूको स्वास्थ्य लाभको कामना पनि गरेका छन्। उनले राजनीतिमा चासो राख्नदैन भनिएको पुस्ता सडकमा उत्रिएर परम्परागत राजनीतिक शैलीलाई अस्वीकृत गरेको भनेका छन्।
युवाहरूले सडकबाट सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा आज रास्वपालाई उभ्याएको पनि उल्लेख गरेका छन्। त्यस्तै जेनजीको आँधीले कोरेको मार्गबाट एक इन्च पनि वितलिन नहुने बताएका छन्।
‘हिजो सडकबाट नवयुवाहरूले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज हामीलाई उभ्याएको छ । र यो पनि सम्झाएको छ, हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ,’ उनले भनेका छन्, ‘म सम्पूर्ण युवा, नागरिक समाज र आम जनसमुदायमा विनम्र अपिल गर्दछु, यहाँहरूको रचनात्मक खबरदारी र हाम्रा कार्यसम्पादनको निर्मम समीक्षा निरन्तर चलिरहोस्। तर, आम मनोविज्ञानमा निराशाको भाष्य भने स्थापित हुन नदिऔँ। नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्ने यस ऐतिहासिक यात्रामा हामी सबै एकताबद्ध हुनैपर्छ। जागरणको त्यो आँधीले कोरेको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट हामी एक इन्च पनि विचलित हुने छैनौँ भन्ने दृढ सङ्कल्प व्यक्त गर्दछु।’
















प्रतिक्रिया