जनकपुर । मथिला क्षेत्रको लोकसंस्कृति, भ्रातृत्व र प्रकृतिपूजनको अद्वितीय प्रतीक मानिने चौठ चन्द्र (चौरचन) पर्व आज जनकपुरधामसहित मधेस प्रदेश तथा मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदै छ । भाद्र शुक्ल चतुर्थीका दिन मनाइने यो पर्वमा चन्द्रमालाई अघ्र्य दिएर पूजा गर्ने परम्परा छ ।
चौरचन पर्व मुख्यगरी घरका महिलाहरूले निराहार व्रत बसेर मनाउँछन्। दिनभरि व्रतालुहरू शुद्धताका साथ घरमा दही, खिर, पुरी, ठेकुवा, भुजिया, र विविध मिठाईहरू तयार पार्छन् । माटाका नयाँ भाँडाहरू (मटका)मा जमाइएको मिठो दही यस पर्वको मुख्य आकर्षण हो ।
साँझपख घरको आँगन वा छतमा गोबर र रातो माटोले लिपेर चामलको पिठो (पिठार)ले आकर्षक अरिपनु (रेखाचित्रररङ्गोली) बनाइन्छ । साँझ चन्द्रमा उदाएपछि अरिपनमा फलफूल (केरा, स्याउ, काँक्रो, नीम्बू आदि) र पकवानहरू राखिन्छ ।
व्रतालुहरूले हातमा फलफूल र पकवान लिएर अञ्जुलीबाट चन्द्रमालाई अघ्र्य (अर्घ) अर्पण गर्छन्। चन्द्रमालाई अघ्र्य अर्पण गरिसकेपछि मात्र व्रतालु र परिवारका सदस्यहरूले पूजा गरिएको प्रसाद ग्रहण गर्छन् ।
गणेश चतुर्थीकै दिन परे पनि मिथिलाञ्चलमा गणेश पूजाभन्दा चन्द्रमाको प्रत्यक्ष पूजालाई विशेष प्राथमिकता दिइन्छ । यस पर्वले प्रकृति र मानवबीचको गहिरो सम्बन्धलाई उजागर गर्छ । आज साँझ मिथिलाका गाउँ–घर र सहरका छतहरू चन्द्रमाको अघ्र्य र पारम्परिक लोकगीतहरूले गुञ्जायमान हुन्छ ।
लोकविश्वासअनुसार भदौ शुक्ल चतुर्थीको दिन देखिने चन्द्रमालाई ‘कलंकित चन्द्रमा’ मानिन्छ । यस दिन चन्द्रमाको दर्शन गर्दा झुटो आरोप वा कलंक लाग्न सक्ने विश्वास छ । त्यसैले चन्द्रमा उदाउँदा खाली हात दर्शन नगरी हातमा फलफूल वा प्रसाद लिएर दर्शन गर्ने परम्परा रहेको छ ।















प्रतिक्रिया