Logo

प्रमुख समाचार

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि यातायात सञ्चालन



काठमाडौं  । बाढी र पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत कृष्णभीरमा नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएको छ।

नयाँ ट्रयाकमा भदौ २८ गतेदेखि परीक्षणका रूपमा यातायात सञ्चालनमा ल्याइएको छ भने असोज १ गतेदेखि नियमित रूपमा यातायात सञ्चालन गरिने भएको छ।

नागढुंगा–नौबिसे–मुग्लिन सडक आयोजना संयोजक तथा सडक विभागका सिनियर डिभिजनल इन्जिनियर सुरेश पौडेलका अनुसार बाढीका कारण सडकखण्डमा क्षति पुगेपछि पूर्वाधार विकास मन्त्रालयले स्थलगत अध्ययन गरेको थियो।

मन्त्रालयले सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटी (एनजीएस)को सहयोगमा चार दिनसम्म प्राविधिक अध्ययन गरेको थियो। अध्ययनपछि विज्ञहरूले कृष्णभीरको पहाड काटेर करिब २५० मिटर लामो नयाँ ट्रयाक निर्माण गर्न सुझाव दिएका थिए।

सोही सुझावअनुसार काम अघि बढाइएको थियो। निर्माण सुरु भएको दसौं दिन भदौ २८ गतेदेखि ग्यास बुलेटसहित केही सवारीसाधनलाई परीक्षणका रूपमा नयाँ ट्रयाकबाट सञ्चालन गरिएको पौडेलले बताए। हाल बिहान र बेलुका अत्यावश्यक सवारीसाधनसमेत सञ्चालन भइरहेका छन्।

नयाँ ट्रयाक सञ्चालनमा आएपछि माथिबाट पहिरो तथा हिलो–लेदो खसेर पुनः सडक अवरुद्ध हुन सक्ने जोखिम भने कायमै रहेको आयोजनाले जनाएको छ। सम्भावित पहिरो तत्काल हटाउन आवश्यक उपकरण तयारी अवस्थामा राखिएको पौडेलले बताए।

उनका अनुसार नयाँ ट्रयाकबाट यातायात सञ्चालनसँगै जोखिम न्यूनीकरणका लागि आवश्यक तयारीसमेत गरिएको छ।

 

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलवार १८:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।