Logo

बैंकिङ

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको १ करोड १ लाख सहयोग



काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गरिमा विकास बैंकले १ करोड १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने भएको छ।

बैंकका अनुसार बाढीपछि प्रभावित नागरिकको राहतका लागि कर्मचारीको एक दिनको तलब तथा भत्ताबापतको १६ लाख २० हजार ५ सय ५० रुपैयाँ र बैंकका तर्फबाट ३४ लाख ९० हजार ५ सय ६१ रुपैयाँ गरी ५१ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको छ।

त्यस्तै, प्रभावित क्षेत्रमा शिक्षा, स्वास्थ्य तथा नागरिकको पुनःस्थापनाका लागि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट थप ५० लाख रुपैयाँ बराबरको प्रत्यक्ष सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। स्थानीय तहसँगको समन्वयमा उक्त सहयोग परिचालन गरिने बैंकले जनाएको छ।

बैंकले बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनःस्थापनाको कामना गरेको छ।

 

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलवार २०:१५   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।