मकवानपुर । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२ स्थित हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकको सुकौरा सडक खण्डमा विद्युतीय गाडी (इभी) दुर्घटनामा मृत्यु भएका चारै जना जनाको पहिचान खुलेको छ ।
काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको म. प्र. ०३–००१ ज ०७२० नम्बरको यात्रुवाहक विद्युतीय गाडी मङ्गलबार दिउँसो २ बजेति दुर्घटना हुँदा घटनास्थलमा चार जनाएको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक माधव काफ्लेले दुर्घटनामा मृत्यु भएका चारै जनाको पहिचान खुलेको बताउनुभयो ।
उहाँका अनुसार दुर्घटनामा मृत्यु हुनेमा नवलपरासी पूर्व जिल्ला कावासोती नगरपालिका–१ का २४ वर्षीय नरबहादुर सिंह ठकुरी र धनुषा जिल्ला धनुषाधाम नगरपालिका–४ का ४३ वर्षीय सुरज भट्टराइको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी नायव उपरीक्षक माधव काफ्लेले बताउनुभयो ।
उहाँका अनुसार ठकुरीको साथमा रहेको पासपोर्ट र नागरिताका आधारमा तथा भट्टराइको साथमा रहेको नागरिकता र राष्ट्रिय परिचय पत्रको आधारमा पहिचान खुलेको हो ।
यस्तै, पर्सा जिल्ला छिपहरमाइ गाउँपालिका–२, टिहुकीका ४४ वर्षीय भुवनेश्वर साह र बारा जिल्ला परवानिपुर गाउँपालिका–३ का ३२ वर्षीय सरफरोस मियाँको पहिचान भएको छ ।
दुर्घटनामा गम्भीर घाइते हुनुभएका मकवानपुरको मकवानपुरगढी गाउँपालिका–१ का २३ वर्षीय राजकुमार स्याङ्तानको ट्रमा सेन्टर उपचार भइरहेको छ ।
यस्तै, गाडीका चालक बारा जिल्ला कलैया उपमहानगरपालिका–२४ का २० वर्षीय अमिर अन्सारी, हेटौँडा उपमहानगरपालिका–११ की २३ वर्षीय कल्पना तामाङ र बारा जिल्ला महागढीमाई नगरपालिका–११ की २१ वर्षीया बबिया कुमारी यादव दुर्घटनामा परी घाइते हुनुभएको छ ।
अन्सारी र तामाङको ट्रमा सेन्टर काठमाडौँमा तथा यादवको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।
घाइतेमध्ये यादवको अवस्था मध्यम र तीन जनाको अवस्था गम्भीर रहेको छ ।
हेटौँडा भीमफेदी कुलेखानी फाखेल सडकको सुकौरास्थित सडकबाट करिब एक हजार मिटर तल खसी दुर्घटना भएको प्रहरी नायव उपरीक्षक काफ्लेले जानकारी दिनुभयो ।
दुर्घटनास्थलमा प्रहरी चौकी खानी खेत मकवानपुरबाट प्रहरी सहायक निरीक्षक, इलाका प्रहरी कार्यालय भीमफेदी मकवानपुरबाट प्रहरी निरीक्षक, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक, जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा ट्राफिकसहित २१ जना, सशस्त्र प्रहरीको १० र नेपाली सेनाको १० जनाको टोली घटनास्थलमा खटिएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया