Logo

विविध

मुगु कांग्रेसको घोषणा : महामन्त्री गुरुराज घिमिरेलाई मुगु प्रवेशमा निषेध



मुगु ।नेपाली कांग्रेस मुगुको संस्थापन इतर पक्षले पार्टीका महामन्त्री गुरुराज घिमिरेलाई मुगु जिल्ला प्रवेशमा निषेध गर्ने निर्णय गरेको छ।

बुधबार पार्टीका काबा सभापति कर्ण रावलको अध्यक्षतामा बसेको बैठकले घिमिरेले विधानविपरीत निर्णय गरेको भन्दै आक्रोश व्यक्त गरेको हो। १४ औँ अधिवेशनबाट निर्वाचित जिल्ला सभापति ऐनबहादुर शाही निरन्तर सक्रिय रहँदारहँदै उनलाई पन्छाएर हरिजंग शाहीलाई कार्यवाहक तोकिएपछि इतर समूह रुष्ट बनेको हो।

बैठकपछि जारी माइन्युटमा भनिएको छ, “१४ औँ अधिवेशनमा निर्वाचित सभापति ऐनबहादुर शाहीज्यू पार्टीका क्रियाकलापमा सक्रिय सहभागी भइरहेको अवस्थामा बिना जानकारी, विधान विपरीत कथित केन्द्रीय विशेष महाधिवेशनका आधारमा टिके महामन्त्री गुरुराज घिमिरेले कार्यवाहक तोकेको निर्णयप्रति खेद प्रकट गर्दै निज महामन्त्रीलाई मुगु जिल्लामा प्रवेश निषेध गर्ने निर्णय गरियो।”

यस्तै, बैठकले आगामी असोज १२ गते जिल्लाका ४५ वटै वडामा वडा अधिवेशन सम्पन्न गर्ने निर्णयसमेत गरेको छ। उक्त निर्णयमा महाधिवेशन प्रतिनिधि, भ्रातृ संगठनका पदाधिकारीसहित ३५ भन्दा बढी नेता-कार्यकर्ताले हस्ताक्षर गरेका छन्।

 

 

 

 

 

 

 

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार ०७:२८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।