काठमाडौं । प्रहरीले १ अर्ब ३४ करोड ७८ लाख ३९ हजार १४४ रुपैयाँ बराबरको हुन्डी कारोबार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले धनुषाको सहिद नगरपालिका–४ का अजयकुमार मुखियालाई पक्राउ गरेको हो।
सीआईबीका अनुसार मुखियाले मलेसियालगायत विभिन्न मुलुकबाट अवैध रूपमा हुन्डी कारोबार गर्दै आएका थिए।
उनले विभिन्न समयमा व्यक्तिगत तथा व्यावसायिक बैंक खाताहरू प्रयोग गरी उक्त रकम बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
धनुषा जिल्ला अदालतबाट अनुमति लिएर सीआईबीले उनलाई भदौ ३० गते पक्राउ गरेको हो। उनीविरुद्ध हुन्डी कारोबार गर्न नहुने कसुरमा थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी तथा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

















प्रतिक्रिया