काठमाडौं। रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा निर्माण हुने २२.५० मेगावाट क्षमताको जाल्दीगाड जलविद्युत् आयोजनाका लागि ४ अर्ब ६० करोड रुपैयाँ लगानी जुटेको छ।
सांग्रिला हाइड्रोपावर प्रालिले प्रवर्द्धन गर्ने आयोजनामा राष्ट्रिय वाणिज्य बैंकको नेतृत्वमा नेपाल बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले संयुक्त रूपमा ३ अर्ब ३६ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन्। आयोजनामा प्रवर्द्धकहरूको १ अर्ब २३ करोड ७१ लाख रुपैयाँ इक्विटी लगानी रहनेछ।
आयोजनाको वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा सांग्रिला हाइड्रोपावरका अध्यक्ष खगेन्द्र न्यौपाने र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले हस्ताक्षर गरेका छन्।
जाल्दीगाड नदीमा निर्माण हुने आयोजनाबाट वार्षिक १३३.४५ गिगावाट घण्टा विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको छ। आयोजनाको निर्माण अवधि ३३ महिना तोकिएको छ।
आयोजनाका लागि आवश्यक जग्गा खरिदलगायत अधिकांश पूर्वतयारीका काम सम्पन्न भइसकेको कम्पनीका प्रबन्ध सञ्चालक कृष्णप्रसाद घिमिरेले बताए।
जाल्दीगाड प्रवर्द्धक समूहले यसअघि गोरखामा ४.५५ मेगावाट क्षमताको विकास हाइड्रोपावर आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ। यही समूहले गोरखामै ४.६ मेगावाट क्षमताको बूढीगण्डकी हाइड्रोपावर आयोजना पनि निर्माण गरिरहेको छ।
बूढीगण्डकी आयोजनाबाट आगामी ६ महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।
यसअघि जलविद्युत् आयोजना निर्माण तथा सञ्चालनको अनुभव रहेको प्रवर्द्धक समूहले जाल्दीगाड आयोजना अघि बढाउन लागेको भएकाले निर्धारित समयमै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

















प्रतिक्रिया