काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्रको शक्ति संघर्ष थप चर्किएको छ । सभापति गगन थापा नेतृत्वको संस्थापन पक्ष निर्धारित कार्यतालिकाअनुसार महाधिवेशन प्रक्रिया अघि बढाउने तयारीमा छ भने पूर्वसभापति शेरबहादुर देउवा पक्षले छुट्टै प्रक्रियाबाट महाधिवेशन गर्ने तयारी गरिरहेको छ ।
यसैबीच देउवा र शेखर कोइराला पक्षमा रहेका २१ भन्दा बढी नेता गगन थापा नेतृत्वको केन्द्रीय संरचनामा समाहित भएका छन् । बिहीबार सानेपामा उनीहरूलाई स्वागत गरिएको थियो । यसअघि पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षका करिब ३१ नेता पनि गगन नेतृत्वको केन्द्रीय कार्यसमितिमा समाहित हुने सहमति बनेको थियो ।
नेता तथा कार्यकर्ताको साथ बढेपछि सभापति थापाले पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटनमा सहभागी हुन सार्वजनिक रूपमा आग्रह गरेका छन् । उनले पार्टीको बृहत्तर एकताका लागि संवाद र सहमतिको प्रयास भइरहेको बताउँदै सबैलाई महाधिवेशन प्रक्रियामा सहभागी हुन आह्वान गरेका छन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशनको केन्द्रीय अधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । संशोधित कार्यतालिकाअनुसार असोज ३ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन, असोज ७ गते जिल्ला अधिवेशन र असोज १० गते प्रदेश अधिवेशन गर्ने कार्यक्रम छ ।
तर पूर्वसभापति देउवा पक्षले गगन थापा नेतृत्वको वर्तमान केन्द्रीय कार्यसमितिलाई वैधानिकता नदिएको भन्दै छुट्टै महाधिवेशनको तयारी अघि बढाएको छ । देउवा पक्षले असोज १५ गतेदेखि आफ्नो अधिवेशन प्रक्रिया सुरु गर्ने र मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ । देउवाले गगन नेतृत्वको महाधिवेशनमा सहभागी नहुन नेता–कार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।
यता नेता शेखर कोइरालाले भने गगन र देउवा दुवै पक्षले अघि बढाएको महाधिवेशन प्रक्रिया रोक्दै पार्टी एकताका लागि संवाद गर्न आग्रह गरेका छन् । बिहीबार जारी गरेको अपिलमा कोइरालाले कांग्रेसभित्रको पछिल्लो विवादप्रति असन्तुष्टि जनाउँदै ‘नेपाली कांग्रेसको पटकथा कहाँबाट कसले कसरी लेखिरहेका छन्, मलाई थाहा छैन’ भनेका छन् ।
पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि पार्टी विभाजन रोक्न संवाद अघि बढाउनुपर्ने धारणा राख्दै आएका छन् । उनले दुवै पक्षले आफ्नो महाधिवेशन प्रक्रिया अघि बढाए पार्टी विभाजनको जोखिम बढ्ने भन्दै सहमतिका लागि पहल गर्न आग्रह गरेका छन् ।
यससँगै कांग्रेसमा अहिले तीनवटा फरक धार देखिएका छन् । गगन थापा नेतृत्वको पक्ष निर्धारित कार्यतालिकाअनुसार महाधिवेशन अघि बढाउने तयारीमा छ । देउवा पक्षले छुट्टै महाधिवेशनको तयारी गरिरहेको छ भने शेखर कोइराला दुवै प्रक्रिया रोक्दै सहमतिको बाटो खोज्नुपर्ने पक्षमा छन् ।
कांग्रेसको आधिकारिक कार्यतालिकाअनुसार असोज ३ र ४ गते वडा तहको अधिवेशनबाट १५औँ महाधिवेशन प्रक्रिया अघि बढ्नेछ । केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने तय गरिएको छ ।
दुई पक्षले आ–आफ्नै महाधिवेशन प्रक्रिया अघि बढाए कांग्रेसको नेतृत्व र संगठनात्मक वैधतासम्बन्धी विवाद थप जटिल बन्ने अवस्था देखिएको छ । हालसम्म भने दुवै पक्षबीच सहमतिको प्रयास पनि जारी रहेको नेताहरूले बताएका छन् ।

















प्रतिक्रिया