Logo

कृषि

हुम्लाबाट दुई करोडको स्याउ निकासी



हुम्ला। दक्षिणी हुम्लाबाट यस वर्ष दुई करोड १६ लाख रुपैयाँ बराबरको स्याउ जिल्ला बाहिर निकासी भएको छ। कृषि विकास कार्यालयका प्रमुख चूडामणि पन्तका अनुसार ताँजाकोट, अदानचुली, चङ्खेली र सर्केगाड गाउँपालिकाबाट उत्पादित स्याउ विभिन्न जिल्लामा पठाइएको हो।

व्यापारीहरूले किसानको बारीमै पुगेर प्रतिकेजी ६० रुपैयाँका दरले स्याउ खरिद गरिरहेका छन्। स्याउ उत्पादनबाट किसानले राम्रो आम्दानी गर्न थालेका छन्।

ताँजाकोट गाउँपालिका–५ का गोपाल बुढाका अनुसार स्याउ बगैँचा लगाएका कतिपय किसानले एकै सिजनमा १० लाख रुपैयाँसम्म आम्दानी गरेका छन्।

यसअघि सडक सञ्जालको अभावमा हुम्लामा उत्पादित स्याउ बजारसम्म पुर्‍याउन नसक्दा बारीमै कुहिने वा पशुवस्तुलाई खुवाउनुपर्ने अवस्था थियो। गत वर्षदेखि भने सडकमार्फत जिल्लाबाहिर स्याउ निकासी हुन थालेपछि किसानले उत्पादनको बजार पाउन थालेका हुन्।

दक्षिणी क्षेत्रमा स्याउ पाकेर बजारमा जान थाले पनि जिल्लाको माथिल्लो क्षेत्रमा भने अझै स्याउ पाकिसकेको छैन। खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका अधिकांश क्षेत्र उच्च उचाइमा रहेकाले त्यहाँ असोज १५ पछि मात्रै स्याउ टिप्ने तयारी गरिएको कृषि विकास कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ४ आश्विन २०८३, आईतवार ०९:१९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।