Logo

विविध

चौतर्फी आलोचनापछि अशोक दर्जीको भावुक स्टाटस– ‘म आज पनि सडकमै छु’



काठमाडौं । बालगायकका रूपमा चर्चामा आएका अशोक दर्जीले आफू पछिल्लो समय आर्थिक कठिनाइमा रहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले परिवारको जिम्मेवारी, आफ्नो भविष्य र आर्थिक अवस्थाबारे धारणा सार्वजनिक गरेका हुन्।

दर्जीले बाल्यकालदेखि नै संघर्ष गर्दै आएको उल्लेख गर्दै जीवनमा हार–जित र विभिन्न उतारचढाव भोगेको बताएका छन्। आफू अहिले पनि संघर्षकै क्रममा रहेको उनको भनाइ छ।

दसैं–तिहार नजिकिँदै गर्दा परिवार तथा भाइबहिनीको खर्च व्यवस्थापनको चिन्ता रहेको उनले बताएका छन्। पढ्ने उमेरमै पैसा कमाउनुपर्ने अवस्था आएको उल्लेख गर्दै उनले आफ्नो भविष्यसँगै परिवारको जिम्मेवारीसमेत सम्हाल्नुपर्ने बाध्यता रहेको बताएका छन्।

आफ्नो आर्थिक अवस्थाबारे उनले अहिले आफूसँग पैसा वा बैंक ब्यालेन्स नरहेको उल्लेख गरेका छन्। उनका अनुसार उनीसँग एउटा घर छ, जुन सहयोगबाट बनेको हो। साथै, कसैले उपलब्ध गराएको अधियाँ जग्गा रहेको पनि उनले बताएका छन्।

गरिब परिवारमा जन्मनु आफ्नो गल्ती नभएको भन्दै दर्जीले गरिबीप्रति आफूलाई कुनै गुनासो नभए पनि यसले जीवनमा विभिन्न कठिनाइ थपेको बताएका छन्।

यसका बाबजुद संघर्षबाट पछि नहट्ने उनले बताएका छन्। आफूबाट समाजले राखेको अपेक्षा पूरा गर्न पुनः अघि बढ्ने उनको प्रतिबद्धता छ।

संगीतकार टंक बुढाथोकीसँगको विगतको विवादतर्फ संकेत गर्दै दर्जीले आफू धेरै थाकिसकेको र अब जीवनलाई सहज रूपमा अघि बढाउन चाहेको बताएका छन्।

उनले आफू छिट्टै नयाँ गीतमार्फत दर्शक तथा श्रोतामाझ आउने तयारीमा रहेको जानकारी दिएका छन्। साथै, सबैको माया र साथको अपेक्षा गरेका छन्।

आफ्नो अभिव्यक्ति कसैलाई दोष लगाउने उद्देश्यले नभएको स्पष्ट पार्दै दर्जीले आफूबाट कुनै गल्ती भएको भए क्षमा गरिदिनसमेत आग्रह गरेका छन्।

प्रकाशित मिति : ४ आश्विन २०८३, आईतवार १८:३०   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।