Logo

प्रमुख समाचार

प्रचण्डले बोलाए केन्द्रीय कार्यसंयोजन समितिको बैठक, महाधिवेशन कार्यतालिका पुनरावलोकन हुने



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कार्यसंयोजन समितिको बैठक बोलाएका छन्। बैठक मंगलबार दिउँसो १ बजे काठमाडौंको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।

पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, राष्ट्रिय महाधिवेशनको तयारी र महाधिवेशन कार्यतालिकाका विषयमा छलफल हुनेछ।

त्यस्तै, भोटेकोशीमा आएको बाढीपछि सरकारले सञ्चालन गरिरहेको उद्धार, राहत तथा पुनर्स्थापनाका कामको पनि बैठकमा समीक्षा गरिने ज्वालाले जानकारी दिए।

नेकपाले यसअघि सार्वजनिक गरेको राष्ट्रिय महाधिवेशनको कार्यतालिका प्रभावित भइसकेकाले बैठकले त्यसको पुनरावलोकन गर्न सक्ने उनले बताए।

नेकपाले राष्ट्रिय महाधिवेशन आगामी मंसिर ११ देखि १५ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो। त्यसका लागि साउन मसान्तसम्म सदस्यता नवीकरण तथा विस्तार अभियान सम्पन्न गर्ने र भदौ १५ गतेभित्र वडा तथा भदौ १६ देखि भदौ मसान्तसम्म पालिका अधिवेशन गर्ने कार्यतालिका तय गरिएको थियो।

तर भदौ मसान्तसम्म पनि सदस्यता नवीकरण तथा विस्तारको काम पूरा हुन सकेको छैन। पूर्वनिर्धारित कार्यतालिकाअनुसार असोज मसान्तसम्म जिल्ला र कात्तिक १५ गतेभित्र प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने थियो।

सदस्यता नवीकरणदेखि वडा तथा पालिका अधिवेशनसम्मका काम निर्धारित समयमै सम्पन्न हुन नसकेपछि महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका प्रभावित भएको हो।

यही परिस्थितिमा मंगलबार बस्ने केन्द्रीय कार्यसंयोजन समिति बैठकले महाधिवेशनको नयाँ वा संशोधित कार्यतालिका तय गर्न सक्ने नेकपाले जनाएको छ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार २०:३९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।