काठमाडौं । त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी हुँदा जलेर मृत्यु भएका चालकको पहिचान खुलेको छ ।
काठमाडौं प्रहरी परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दिलिप घिमिरेकाअनुसार बसमा जलेर मृत्यु हुने चालक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका सिस्नेरीका अर्जुन दोङ तामाङ हुन् ।
रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा त्रिपुरेश्वर बस स्टपनजिक आगलागी हुँदा जलेर घाइते भएका चालकको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
त्रिपुरेश्वरमा सोमबार भएको घटनामा दावा लामाको नाममा रहेको सवारीचालक अनुमतिपत्र उनले प्रयोग गरेको खुल्न आएको एसएसपी घिमिरेले बताए ।
मृतक चालक तामाङ विसं २०८२ कात्तिकमा बालाजुमा बस पल्टिँदा तीन जना घाइते भएको घटनामा संलग्न रही घटनापश्चात् फरार रहेको बुझिएको प्रहरीले जनाएको छ । मृतक तामाङले सुनिल तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको अनुसन्धानमा खुलेको एसएसपी घिमिरेले बताए ।
तीन महिनाअघि काठमाडौंको मूलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा समेत मृतक चालक तामाङले दाबा तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको प्रहरीले जनाएको छ । एसएसपी घिमिरेका अनुसार अर्जुनले दावाको लाइसेन्समात्र नभई बैंक खाता र नागरिकतासमेत प्रयोग गरेका थिए । उनले अन्य विभिन्न व्यक्तिको नाममा जारी भएका परिचयपत्र तथा कागजातहरू प्रयोग गरेको हुन सक्ने एसएसपी घिमिरेले बताए ।

















प्रतिक्रिया