काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहलाई कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित प्रधानमन्त्रीकै कार्यकक्षबाट बिदाइ गरेका छन्।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन मंगलबार साँझ अमेरिका प्रस्थान गर्नुअघि कार्यवाहक प्रधानमन्त्री वाग्लेले प्रधानमन्त्री शाहलाई बिदाइ गरेका हुन्।
बिदाइका क्रममा वाग्लेले प्रधानमन्त्री शाहलाई यात्राका क्रममा अध्ययन गर्न पल केनेडीद्वारा लिखित द राइज एन्ड फल अफ द ग्रेट पावर्स पुस्तकसमेत हस्तान्तरण गरेका थिए। प्रधानमन्त्री शाह मंगलबार साँझ ७ बजे कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका छन्।
उनले असोज ८ गते संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाह असोज १० गते नेपाल फर्किने कार्यतालिका रहेको छ।
यसैबीच, प्रधानमन्त्री शाहको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीसहित रक्षा र परराष्ट्र मन्त्रालयको कार्यभार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्हालेका छन्।
प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन्। प्रधानमन्त्री शाहले सम्हाल्दै आएको रक्षा मन्त्रालयको कार्यभारसमेत वाग्लेलाई दिइएको छ।
यसअघि नै संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका परराष्ट्रमन्त्री शिशिर खनालको अनुपस्थितिमा परराष्ट्र मन्त्रालयको कार्यभार पनि वाग्लेलाई नै तोकिएको छ।

















प्रतिक्रिया