Logo

राजनीति

केन्द्रीय कमिटीमा विष्णु रिजालको माग: नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस्



काठमाडाैं । नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो भन्ने कुरा स्पष्ट पार्न माग गरेका छन् । पार्टी केन्द्रीय कमिटी बैठकमा बुधबार आफ्ना धारणा राख्दै रिजालले सो माग गरेका हुन् ।

रिजालले नेपाली सेनाप्रति नेकपा (एमाले)को दृष्टिकोण के हो भन्ने प्रश्न गर्दै पार्टीको निशाना सेना नै हो जस्तो गरी संसदमा बारम्बार प्रस्तुत हुनुले थप संशय सिर्जना गरेको बताए । ‘अध्यक्ष कमरेड स्वयंले भन्नुभएको छ– पाँच मिनेट ढिलो भएको भएर लागू पदार्थ खुवाएर ल्याएकाहरूले मलाई बालुवाटारमै मार्ने थिए । राधिका शाक्य म्याडमको पनि अस्ति त्यस्तै धारणा सार्वजनिक भएको छ । भदौ २३–२४ मा सेनाको भूमिकाबारे कैयौँ अनुत्तरित प्रश्न छन्,’ रिजालले भने, ‘सेनाले हाम्रो नेतृत्वको सुरक्षा र सहजीकरण गरेको छ । एमालेको आजको मुख्य निसाना नेपाली सेना नै हो जस्तो गरेर संसदमा बारम्बार प्रस्तुत हुनुले पार्टीकै दृष्टिकोण त्यही हो कि भन्ने भ्रम उत्पन्न भएको छ र राज्यको स्थायी संरचनासँग हाम्रो टकराव बढाएको छ । यसका बारेमा पार्टीले स्पष्ट पार्नुपर्छ ।’

रिजालले पार्टी अध्यक्षको प्रतिवेदनप्रति समर्थन गर्दै उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको थप व्याख्याबाट मुख्य नेताहरूबीच रहेको अविश्वासको कालो–सेतो बादल पनि हटेको धारणा राखेका छन् । ‘अध्यक्ष कमरेडको प्रतिवेदनले आफ्ना कमजोरी केलाएको छ । अध्यक्ष स्वयंले निर्वाचनमा पार्टीको पराजयको नैतिक जिम्मेवारी लिएर अब के गरेर जानुपर्छ भन्ने मार्गचित्र प्रस्तुत गर्नुभएको छ,’ रिजालले भने, ‘यसमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले गरेको व्याख्याबाट पार्टीका मुख्य नेताहरूका बीचमा खडा भएको अविश्वासको कालो–सेतो सबै खालको बादल बिलाएर गएको छ । म समर्थन गर्दछु ।’

रिजालले वामपन्थी एकताका लागि तत्काल पहल लिन पनि पार्टीलाई सुझाव दिएका छन् । एमालेको नीति र नेतृत्वमा वामपन्थी एकता भए पुनः कम्युनिस्ट आन्दोलन जागृत हुन सक्ने उनले बताए । ‘समग्र कम्युनिस्ट आन्दोलनको पुनर्गठनका लागि गम्भीरतापूर्वक बहस हुनुपर्छ । आजकै नारा, सिद्धान्त, रणनीति, कार्यनीति, कार्यशैली र सरकारदेखि सरकारसम्मको गोलचक्करप्रति नयाँ पुस्ता कत्ति पनि आकर्षित छैन,’ रिजालले भने, ‘सापेक्षतामा हेरेर हिजो मदन भण्डारीले अनेक आरोप खेपेर चालेजस्तै साहसिक कदम आवश्यक छ । यसले फेरि एक कालखण्डका लागि हामीलाई पुनर्जीवन दिनेछ ।’

रिजालले पार्टीको प्रचारलाई प्रभावकारी बनाउन फिजिकल हैन, डिजिटल संयन्त्र बनाउनुपर्ने बताएका छन् । उनले पार्टी केन्द्रमा अलग्गै डिजिटल विभाग बनाएर चौबिसै घण्टा नयाँ माध्यमबाट प्रचार गर्नुपर्ने बताए । पार्टीमा नयाँ पुस्ताको आकर्षण जरुरी रहेको रिजालको भनाइ छ । नयाँ पुस्ताको पार्टीप्रति घटेको आकर्षणका बारेमा चिन्ता गर्दै रिजालले भने, ‘पार्टीको पूर्णकालीन सदस्य हुने कतै मेरो पुस्ता नै अन्तिम हुने त होइन ? यस विषयमा गम्भीर हुन पार्टीका सबै तप्कालाई आग्रह गर्दछु ।’

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार १५:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।