Logo

प्रमुख समाचार

५१२ गाउँपालिकामा कांग्रेसको अधिवेशन सकियो, २४१ वटामा आज र भोलि



काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देशभरका ५१२ पालिकामा अधिवेशन सम्पन्न भएको छ। तीमध्ये अधिकांश पालिकामा नेतृत्व सर्वसम्मत चयन भएको कांग्रेसले जनाएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ५८ जिल्लाका पालिकामा भने निर्वाचनमार्फत नेतृत्व चयन गरिएको छ।

बाँकी २४१ पालिकामा असोज ८ र ९ गते अधिवेशन प्रक्रिया अघि बढाइने भएको छ। यसबीच जल तथा मौसम विज्ञान विभागले असोज ८ देखि १२ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेपछि कांग्रेसले अधिवेशनका क्रममा आवश्यक सतर्कता अपनाउन निर्देशन दिएको छ।

केन्द्रीय निर्वाचन समितिले निर्वाचन अधिकृतहरूलाई आफ्नो मातहतका पालिका, प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका अधिवेशन मौसमको अवस्था हेरेर अनुकूल समयमा सञ्चालन गर्न निर्देशन दिएको छ।

समितिका सदस्य सचिव राजु कटुवालले जारी गरेको सूचनामा प्रतिकूल मौसमका कारण हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै अधिवेशनका क्रममा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

कांग्रेसको केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका छ।

 

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार ०७:२१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।