Logo

अर्थ

नयाँ डिजाइनको १ हजार रुपैयाँको नोट आजदेखि चलनचल्तीमा



काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन तथा विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ। मुद्रा व्यवस्थापन विभागका अनुसार नयाँ नोटको आकार र बैजनी रङको मूल डिजाइन साविककै राखिएको छ भने फिक्का हरियो रङको घेरा कायम गरिएको छ ।

नयाँ नोटमा पानीछाप, रङ परिवर्तन हुने सुरक्षा धागोलगायत थप सुरक्षात्मक विशेषता समावेश गरिएको बैंकले जनाएको छ । नोटको अग्रभागमा सगरमाथाको चित्र, लालीगुराँसको पानीछाप, दृष्टिविहीन व्यक्तिका लागि स्पर्शबाट पहिचान गर्न मिल्ने रोमन अक्षर ‘एम’ र तेर्सा रेखा राखिएको छ । ३.५ मिलिमिटर चौडा सुरक्षा धागोमा ‘एनआरबी’ र ’१०००’ अंकित गरिएको छ, जुन सोझो हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने व्यवस्था गरिएको छ ।

त्यस्तै, सगरमाथाको दायाँतर्फ भगवतीको चित्र पनि समावेश गरिएको छ, जुन कोण परिवर्तन गर्दा सुनौलोबाट हरियो रङमा देखिन्छ । नोटमा गभर्नर प्राडा विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ । पृष्ठभागमा चितवनको सरकारी हात्तीसारमा जन्मिएका जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’ को चित्र, सातै प्रदेशलाई जनाउने सात वटा लालीगुराँस र हनुमानढोकास्थित लँहचोकको ऐतिहासिक स्तम्भको आकृति राखिएको छ ।

राष्ट्र बैंकका अनुसार २०७९ सिरिजका तोकिएका सङ्केत नम्बरपछि अब ट÷९२ ०००००१ बाट त५० ९९९९९९ नम्बर सम्मका नयाँ नोटको वितरण सुरु गरिएको छ । बैंकले नोट राष्ट्रको सम्पत्ति भएकाले जतनपूर्वक प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार १०:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।