Logo

अर्थ

धुलिखेल अस्पतालको जनशक्ति आपूर्ति ठेक्कामा चलखेल, पुनःमूल्याङ्कनको मागसहित उजुरी



काठमाडाैं । काठमाडौँ विश्वविद्यालयअन्तर्गत रहेकाे धुलिखेल अस्पतालको जनशक्ति आपूर्ति सम्बन्धी ठेक्का प्रक्रियामा चलखेल भएको आशंका गरिएको छ । अस्पतालले बोलपत्र स्वीकृत गर्ने आशयको सूचना जारी गर्दै भेट्रान सेक्युरिटिज ट्रेडिङ्ग्स एन्ड सप्लायर्स प्रालिलाई छनोट गरेपछि प्रतिस्पर्धी कम्पनीहरूले प्रक्रियामाथि प्रश्न उठाएका हुन् ।

अस्पतालले सार्वजनिक गरेको आशयपत्रअनुसार भेट्रान सेक्युरिटिजलाई छनोट गर्ने निर्णय भएपछि प्रतिस्पर्धामा सहभागी केही कम्पनीले पुनःमूल्याङ्कनको माग गर्दै अस्पताल प्रशासनमा उजुरी दिएका छन् । यस विषयमा नेपाल सरकारको ‘हेलो नेपाल’मा समेत उजुरी परेको छ । यसअघि पनि धुलिखेल अस्पतालको जनशक्ति आपूर्तिको ठेक्का पाएको भेट्रान सेक्युरिटिज ट्रेडिङ्ग्स एन्ड सप्लायर्स प्रालिलाई श्रम ऐन बमोजिम मजदुरहरूलाई सेवा सुविधा नदिएको भन्दै श्रम कार्यालयमा समेत उजुरी परेको थियो ।

प्रतिस्पर्धी कम्पनीका एक प्रतिनिधिले अस्पतालको जनशक्ति व्यवस्थापन तथा खरिद शाखाको नेतृत्वबाट आन्तरिक मिलेमतो भएको आरोप लगाएका छन् । उनका अनुसार श्रम ऐन तथा बोलपत्रका सर्तअनुसार योग्य ठहरिनुपर्ने न्यूनतम दररेटमा सहभागी कम्पनीलाई पाखा पारिएको छ।

प्रतिस्पर्धी पक्षले केही उजुरीकर्तालाई आर्थिक प्रलोभन देखाएर उजुरी फिर्ता गराउने प्रयास भएको आरोपसमेत लगाएको छ ।

 

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार ११:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।