काठमाडौं । वुधबार विहान निधन भएका काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति तथा संरक्षण समितिका अध्यक्ष प्राडा सुरेशराज शर्माको विहीबार दाहसंस्कार गरिदैछ ।
शर्माको बुधबार साँझ ६ः५० बजे काठमाडौँको ह्याम्स अस्पतालमा निधन भएको काठमाडौँ विश्वविद्यालयले जनाएको छ ।
शर्माको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बिहीबार बिहान ७ बजेदेखि १० बजेसम्म काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट, बालकुमारी, ललितपुरमा राखिएको थियो । त्यसपछि उनको पार्थिव शरीर दाहसंस्कारका लागि पशुपति आर्यघाट पुर्याइएको छ । निरन्तर झरी र आफन्तहरुको आगमन भइनसेकाका कारण दाहसंस्कारमा केही ढिला भएको छ ।
नेपालको शिक्षालाई अन्तर्राष्ट्रिय गुणस्तरमा पु¥याउन, विश्वविद्यालयमा समयानुकूल नयाँ विषय भित्र्याउन तथा अन्तर्राष्ट्रिय स्रोत, प्राध्यापक र विद्यार्थी जुटाउन शर्माको महत्वपूर्ण योगदान रहेको विश्वविद्यालयले जनाएको छ ।
शर्मा नेपालको प्राविधिक शिक्षाका जनकका रूपमा समेत चिनिन्थे। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) तथा त्यसअन्तर्गतका विभिन्न टेक्निकल इन्स्टिच्युट, सिन्धुली बहुमुखी क्याम्पस र सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युटलगायत संस्थाको स्थापनामा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
राष्ट्रिय शिक्षा समितिका सदस्य–सचिवसमेत रहेका शर्माले नेपालको शैक्षिक नीति निर्माणमा योगदान दिएका थिए । शिक्षासम्बन्धी विभिन्न पुस्तकका लेखकसमेत रहेका उनको अन्तर्राष्ट्रिय ख्याति रहेको विश्वविद्यालयले जनाएको छ ।
रसायनशास्त्रका प्राध्यापक शर्माले उज्ज्वल कीर्तिमय राष्ट्रदीपलगायत विभिन्न पदक, षडानन्द पुरस्कार तथा बीपी कोइराला मेमोरियल ओरेसनलगायत सम्मान प्राप्त गरेका थिए। उनका १० वटा पुस्तक प्रकाशित छन् ।
सिन्धुलीको खुर्कोटमा विष्णुप्रसाद उपाध्याय ढुङ्गेल र सावित्रीदेवी ढुङ्गेलका सुपुत्रका रूपमा १९९९ साल साउन ७ गते जन्मिएका शर्माको धर्मपत्नी उर्मिला शर्मा ढुङ्गेलको २०८१ साल कात्तिक १४ गते निधन भएको थियो । उनका चार छोरीमध्ये एक छोरीको निधन भइसकेको छ ।
काठमाडौँ विश्वविद्यालयले शर्माको निधनबाट विश्वविद्यालय तथा नेपालको शिक्षाक्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएको छ । विश्वविद्यालयले उनका सोच र सङ्कल्पलाई साकार पार्ने प्रतिबद्धता व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।


















प्रतिक्रिया