Logo

समाचार

बाढीपीडितका लागि प्याब्सनद्वारा २० करोड ८९ लाखभन्दा बढी राहत सहयोग



काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले भोटेकोशी बाढीपीडितका लागि २० करोड ८९ लाख २ हजार ९ सय ७० रुपैयाँ राहत सहयोग जुटाएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै प्याब्सनले उक्त जानकारी गराएको हो ।

प्याब्सनका अनुसार भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले भाद्र ११ गतेदेखि देशभरका सदस्य विद्यालय, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकबाट राहत रकम संकलन अभियान सञ्चालन गरिएको थियो ।

उक्त अभियानअन्तर्गत भाद्र २६ गते तत्कालीन अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १२ करोड रुपैयाँ हस्तान्तरण गरिएको प्याब्सनले जनाएको छ ।

यस्तै, असोज ७ गते शिक्षा मन्त्री सस्मित पोखरेलमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३ करोड ३९ लाख २ हजार ९ सय ७० रुपैयाँ हस्तान्तरण गरिएको छ । बाढी प्रभावित क्षेत्रमा पूर्ण क्षति भएका तीन तथा आंशिक क्षति भएका दुई विद्यालयका लागि २ करोड रुपैयाँ छुट्याइएको प्याब्सनले जनाएको छ ।

यस्तै, प्याब्सनका सदस्य विद्यालयहरूले सिधै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३ करोड ५० लाख रुपैयाँ जम्मा गरेका छन् । प्याब्सनले शिक्षा क्षेत्रको विकाससँगै राष्ट्रिय विपत्ति तथा संकटका समयमा राज्य र नागरिकसँग सहकार्य गर्दै सहयोग गर्दै आएको जनाएको छ ।

आगामी दिनमा बाढी प्रभावित क्षेत्रका पठनपाठनबाट वञ्चित बालबालिकाको शिक्षाको निरन्तरताका लागि आवश्यक शैक्षिक सहयोग उपलब्ध गराउनसमेत प्रतिबद्ध रहेको प्याब्सनले जनाएको छ । राहत अभियानमा सहयोग गर्ने सदस्य विद्यालयका सञ्चालक, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकप्रति प्याब्सनले आभार व्यक्त गरेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार १५:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।