काठमाडौं । एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) बीच दिगो तथा जलवायु विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीअनुसार नेपालमा हरित वित्त (ग्रीन फाइनान्सिङ) लाई थप प्रभावकारी बनाउन विज्ञानमा आधारित ज्ञान, प्राविधिक समाधान र वित्तीय अवसरलाई एकीकृत गरिनेछ । यसका लागि इसिमोडको अनुसन्धान, प्राविधिक ज्ञान तथा क्षमता विकाससम्बन्धी अनुभवलाई एनएमबि बैंकको वित्तीय क्षेत्रको विशेषज्ञतासँग जोडिने जनाइएको छ ।
सहकार्यबाट वातावरण संरक्षण, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण तथा स्थानीय समुदायको उत्थानशीलता बढाउन सहयोग पुग्ने दिगो परियोजना तथा लगानीका अवसर पहिचान गरिनेछ ।
एनएमबि बैंकले वातावरणमैत्री तथा जिम्मेवार वित्तीय अभ्यासलाई प्राथमिकता दिँदै हरित तथा दिगो बैंकिङलाई अघि बढाउँदै आएको जनाएको छ । बैंकका अनुसार इसिमोडसँगको सहकार्यले विज्ञान, वित्त र दिगो विकासबीचको समन्वयलाई थप मजबुत बनाउनेछ ।
यस साझेदारीबाट नेपालमा दीर्घकालीन तथा वातावरणमैत्री आर्थिक विकासका लागि योगदान पुग्ने अपेक्षा गरिएको बैंकले जनाएको छ ।


















प्रतिक्रिया