काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै हालै नेपालमा आएको भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिबारे जानकारी गराएका छन्।
न्यूयोर्कमा जारी महासभाको उच्चस्तरीय सप्ताहअन्तर्गत शुक्रबारको दिवासत्रमा प्रधानमन्त्री शाहले सम्बोधन गरेका हुन्। सम्बोधनका क्रममा उनले नेपालमा जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद् र त्यसबाट परेको प्रभावबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका छन्।
महासभामा सम्बोधन गर्नुअघि प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका थिए। भेटमा गुटेरेसले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै जलवायु परिवर्तनका विषयमा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताएका थिए।
प्रधानमन्त्रीको सचिवालयका अनुसार गुटेरेसले नेपाली युवा प्रतिनिधिमण्डलको समेत प्रशंसा गरेका थिए। भेटका क्रममा उनले आफू सन् १९७८ मा पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै महासचिव पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेका थिए।
प्रधानमन्त्री शाहले महासभामा नेपालमा पछिल्लो समय देखिएका बाढी तथा अन्य जलवायुजन्य विपद् र जलवायु न्यायको विषयलाई प्राथमिकताका साथ उठाउने बताइएको छ।


















प्रतिक्रिया