काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूमा कर्जाको गुणस्तर खस्किँदै गएपछि निष्क्रिय कर्जा बढेर करिब ५१ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको ‘लघुवित्त वित्तीय संस्थाहरूको गैरस्थलगत सुपरिवेक्षण प्रतिवेदन–२०८३’ अनुसार एक वर्षमा लघुवित्तको निष्क्रिय कर्जा ६३.६३ प्रतिशतले बढेको हो ।
२०८२ असार मसान्तमा ३१ अर्ब दुई करोड रुपैयाँ रहेको निष्क्रिय कर्जा २०८३ असारसम्म आइपुग्दा बढेर ५० अर्ब ८२ करोड रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ । कर्जा विस्तारको तुलनामा निष्क्रिय कर्जाको वृद्धि निकै उच्च देखिएको हो ।
समीक्षा अवधिमा लघुवित्त संस्थाहरूले कुल चार खर्ब ८७ अर्ब ७४ करोड रुपैयाँ कर्जा तथा सापट प्रवाह गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा १०.०९ प्रतिशतले बढी हो । तर कर्जा विस्तारसँगै निष्क्रिय कर्जा बढेपछि जोखिम व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम पनि उल्लेख्य रूपमा बढेको छ ।
२०८३ असार मसान्तमा लघुवित्त संस्थाहरूको कुल कर्जा नोक्सानी व्यवस्था ३४.८८ प्रतिशतले बढेर ३५ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । त्यसमध्ये निष्क्रिय कर्जाका लागि गरिएको नोक्सानी व्यवस्था ८४.०८ प्रतिशतले बढेर २९ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकले निष्क्रिय कर्जा बढ्नुका पछाडि कर्जा असुलीमा देखिएको सामाजिक अवरोध, बहुकर्जा, अर्थतन्त्रमा आएको सुस्तता र ऋणीको भुक्तानी क्षमतामा परेको दबाबलाई प्रमुख कारणका रूपमा औंल्याएको छ । लघुवित्त संस्थाहरूले कर्जा विस्तार गर्न सके पनि त्यसको गुणस्तर कायम गर्नु चुनौतीपूर्ण बन्दै गएको प्रतिवेदनमा उल्लेख छ ।
लघुवित्तको कुल कर्जामा कृषि क्षेत्रको हिस्सा सबैभन्दा धेरै छ । असार मसान्तसम्म कुल कर्जाको ५८.६३ प्रतिशत अर्थात् तीन खर्ब १३ अर्ब पाँच करोड रुपैयाँ कृषि क्षेत्रमा प्रवाह भएको छ । सेवा व्यवसायमा २०.४५ प्रतिशत, थोक कर्जामा ८.६५ प्रतिशत, घरेलु तथा लघु उद्यममा २.६४ प्रतिशत र अन्य क्षेत्रमा ९.६२ प्रतिशत कर्जा गएको छ ।
खराब कर्जाको दबाब बढे पनि लघुवित्त संस्थाहरूको खुद नाफा भने बढेको छ । २०८२ असारमा सात अर्ब २८ करोड रुपैयाँ रहेको खुद नाफा २०८३ असारमा बढेर १० अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । सञ्चालनमा रहेका ४८ खुद्रा कर्जा प्रदायक लघुवित्तमध्ये दुई संस्था भने खुद नोक्सानीमा छन् ।
पुँजी पर्याप्तताको अवस्था भने सन्तोषजनक रहेको राष्ट्र बैंकले जनाएको छ । असार मसान्तसम्म लघुवित्त संस्थाहरूको जोखिमभारित सम्पत्तिको अनुपातमा प्राथमिक पुँजी ११.४० प्रतिशत र कुल पुँजीकोष १२.५६ प्रतिशत छ । राष्ट्र बैंकको व्यवस्थाअनुसार न्यूनतम प्राथमिक पुँजी चार प्रतिशत र कुल पुँजीकोष आठ प्रतिशत हुनुपर्ने हुन्छ ।
समीक्षा अवधिमा लघुवित्त संस्थाहरूको कुल सम्पत्ति ७.८८ प्रतिशतले बढेर छ खर्ब ५५ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । तर कुल लगानी भने ६ प्रतिशतले घटेर नौ अर्ब ९० करोड रुपैयाँमा सीमित भएको छ । मुद्दती निक्षेपमा गरिएको लगानीसमेत १४.३९ प्रतिशतले घटेर सात अर्ब १९ करोड रुपैयाँमा झरेको छ ।
लघुवित्त संस्थाहरूले बचत तथा निक्षेपबाट दुई खर्ब २५ अर्ब २७ करोड र बाह्य सापटीबाट दुई खर्ब १२ अर्ब ५४ करोड रुपैयाँ परिचालन गरेका छन् । यसरी कुल वित्तीय स्रोत परिचालन चार खर्ब ३७ अर्ब ८१ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।


















प्रतिक्रिया