Logo

मनोरञ्जन

कविता: निर्जन बस्ती



सुरुङको अन्धकार भित्र
निसासिएको छु म
लेदो, ढुङ्गा र बालुवा पन्छाउन नसक्दा
अध्ँयारो चिर्न सकिएको छैन सुरुङको
म सँगै पुरिएका छन
कयौ सहकर्मीहरु
र पुरिएका छन हाम्रा सपनाहरु ।

मेघै नगर्जी
बर्षातै नभई
बगे बस्ती र शहरहरु
ढले मन्दिर र दरबारहरु
डुबे पाठशाला र अस्पतालहरु
रोइरह्यो मानवता
बगे मानवताका अबशेषहरु ।

देश बग्यो
बिश्व बग्यो
सँग सँगै बग्यो मान्छेको दम्भ र आडम्बर
मृत्यु जित्न सकेन मान्छेले
म मृत्यु कुरि रहेछु
सरकार असफलताको सिढि चढेकै हो त ?
हाम्रो उद्धार र पुनः स्थापना गर्न नसकी ।

बाढीले मान्छे मात्रै बगाएन
बगायो सभ्यता र मानवता
सायद कोही बाँकी छैन अब
अन्तिम मान्छे म मात्रै हुन सक्छु
बाढीको प्रत्यक्षदर्शी
म पनि मरे भने
कस्ले लेख्ला भोटेकोशीको ताण्डवको इतिहास ?

मर्नेहरु मरि सके
सायद घाइते र अपाङ्ग रोइ रहेछन
बगर बनाइको बस्ती नियाल्दै
आफन्त गुमाएको पीडा बिर्सन नसकी
अन्यौल भबिष्य बोकेर
जिजीबिषा सुम्सुम्याउँदै
बाचेका होलान सपना सबै गुमाएर ।

कोही जीवित भए
आउनु पर्ने हो मेरो उद्धारमा
लाग्छ कोही जीबित छैन
निर्जन भएको छ बस्ती
भोक र तिर्खा असह्य हुँदा पनि
म संघर्ष गरि रहेछु
रोमाञ्चित जीवन जिउन ।

त्रिशूली सुस्ताएकी होला
लासका बिस्कुन हेर्दै
टिमुरेबेसी स्तब्ध होला
मानवताको त्रासदीपूर्ण मुत्यु देखेर
बेत्रावती प्रश्न गर्ली
जीवनको बिलय कहाँ लुकेको हुन्छ भनेर
म बिक्षिप्त बनिरहकोे छु
र आफैलाई सोधिरहेछु
मेरो जीवन यात्रा कसरी टुङ्गिएला ?
म अनुत्तरित प्रश्नको जबाफ मागि रहेछु
खै कस्ले देला जबाफ ?
आकाश
धरती
या मानव ?

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार १६:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।