Logo

समाचार

नारायणीको जलसतह हालसम्मकै उच्च



नारायणगढ (चितवन) । नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको छ । देवघाटस्थित जलमापन केन्द्रमा मापन गरिएको उक्त जलसतह जलमापन गर्न थालेपछि हालसम्मकै उच्च रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो २:१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ मिटरलाई खतराको तह मानिन्छ । पछिल्लो मापनअनुसार दिउँसो ३:४० बजे नदीको जलसतह ११ दशमलव ७५ मिटरमा झरेको छ । नदीको जलसतह घट्दो क्रममा रहे पनि खतराको तहभन्दा निकै माथि छ ।

नारायणी बेसिन फिल्ड कार्यालयका प्रमुख हाइड्रोलोजिस्ट इञ्जिनियर सुमित अधिकारीका अनुसार नारायणीमा जलमापन गर्न थालेपछिकै हालसम्मको उच्च जलसतह आज मापन भएको हो । पहाडी क्षेत्रमा वर्षा भइरहेकाले नदीको जलसतहमा थप उतारचढाव आउन सक्ने उनले बताए।

कार्यालयका अभिलेखअनुसार विसं २०८१ असोज १२ गते नारायणी नदीमा उच्चतम जलसतह ११ दशमलव छ मिटर पुगेको थियो। विसं २०८० साउन २९ गते आठ दशमलव ३३ मिटर, विसं २०७९ असोज २० गते नौ दशमलव ५२ मिटर र विसं २०७८ असार २ गते १० दशमलव ५० मिटर उच्चतम जलसतह मापन गरिएको अभिलेखमा उल्लेख छ । उनका अनुसार देवघाटमा सन् १९६३ देखि जलमापन गर्न थालिएको हो ‍। -रासस

प्रकाशित मिति : ११ आश्विन २०८३, आईतवार १७:२८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।