Logo

अर्थ

करिब चार महिना पछि सुकेटार विमानस्थलमा हवाई उडान 



ताप्लेजुङ । प्रतिकुल मौसमका कारणले करिब चार महिना पछि ताप्लेजुङको सुकेटारमा सोमबारदेखि हवाई उडान सुरु भएको छ । फुङलिङमा रहेको सुकेटार विमानस्थलमा करिब चार महिनापछि सोमबारदेखि काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान सुरु भएको हो ।

वर्षायाम सुरु भएसँगै भिजिबिलिटी कम भएपछि गत जेठ २२ गतेदेखि उडान हुन सकेको थिएन । सुकेटार विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर दिलीप राजवंशीका अनुसार बारम्बार लागिरहने हुस्सु तथा कुहिरोले भिजिबिलिटी कम हुँदा ताप्लेजुङमा ४ महिनासम्म उडान अवरुद्ध भएको थियो । ताप्लेजुङबाट काठमाडौँ प्रस्थान गर्ने ६ जना र काठमाडौँबाट ताप्लेजुङ आउने १२ जना यात्रु प्रभावित भएका थिए ।

अहिले मौसममा क्रमशः सुधार आएकाले उडान सुरु भएको नेपाल वायु सेवा निगम ताप्लेजुङ स्टेसन इन्चार्ज नारायणकुमार कार्कीले जानकारी दिए ।

दशैँतिहार नजिकिएसँगै परिवारसँग पर्व मनाउन साथै आफन्त भेटघाटका लागि जिल्ला भित्रिने तयारीमा रहेका तथा अति आवश्यक कार्यका लागि जिल्ला बाहिरिने नागरिक हर्षित भएका छन् । त्यस्तै, ताप्लेजुङ घुम्न आउने सिजन समेत सुरु भएकै समयमा हवाई उडान सञ्चालन हुँदा यातायात व्यवसायी तथा होटल व्यवसायी समेत हर्षित देखिएका छन् ।

सोमबार ताप्लेजुङबाट काठमाडौँ पाँच जना प्रस्थान गरेका छन् भने काठमाडौँबाट १३ जना यात्रु ताप्लेजुङ आएको स्टेसन इन्चार्ज कार्कीले जानकारी दिए ।

यसअघि साताको सोमबार, बुधबार र शुक्रबार हुँदै आएको उडान अबदेखि सोमबार, बिहीबार र शनिबारका लागि सारिएको छ । ताप्लेजुङबाट काठमाडौँ प्रस्थान गर्ने यात्रुका लागि हाल १२ हजार ७० रुपियाँ र काठमाडौँबाट ताप्लेजुङ आउनेका लागि १२ हजार २७० रुपियाँ भाडादर निर्धारण गरिएको निगमले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार १३:३५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।