Logo

विविध

सीप भएका युवा र जनशक्ति खोजिरहेका रोजगारदाताबीच दूरी घटाउँदै इटहरीमा रोजगार मेला



इटहरी । सीप भएका युवा र आवश्यक जनशक्ति खोजिरहेका रोजगारदाताबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उद्देश्यले इटहरीमा ‘सीप तथा रोजगार मेला–२०८३’ सुरु भएको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सुरु भएको मेलामा युवाको सीप पहिचान, रोजगार मिलान, सीप प्रोफाइलिङ तथा व्यावहारिक तालिमलाई प्राथमिकता दिइएको छ । मेला असोज २० गतेसम्म सञ्चालन हुनेछ ।

मेलाको उद्घाटन गर्दै प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले श्रम बजारको माग र युवासँग भएको सीपबीचको दूरी घटाउन आवश्यक रहेको बताए ।

उनले युवालाई रोजगारी खोज्ने जनशक्तिका रूपमा मात्र नभई उत्पादनशील र आफैँ रोजगारी सिर्जना गर्न सक्ने जनशक्तिका रूपमा विकास गर्नुपर्ने बताए ।

यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिपक साहले पनि मेलाले युवा जनशक्तिलाई शीपसंग जोडने कुरामा जोड दिएका छन् ।

मेलाको पहिलो चरणमा युवाको सीप प्रोफाइलिङ तथा रोजगारदाता र तालिम प्रदायकसँग सम्बन्धित सूचना तथा परामर्श सेवा सञ्चालन गरिनेछ । तालिमका सहभागी छनोट तथा प्रशिक्षार्थी समूह विभाजनको कामसमेत गरिने युवा श्रम तथा रोजगारमन्त्री रामजी यादवले जानकारी दिएका छन् ।

असोज १५ गतेदेखि १९ गतेसम्म १० वटा विषयगत क्षेत्रमा पाँचदिने व्यावहारिक तालिम सञ्चालन हुनेछन् । मेलामा रोजगार मिलान, प्रदर्शनी, सूचना तथा परामर्श र उद्यमशीलतासम्बन्धी कार्यक्रमसमेत निरन्तर सञ्चालन हुनेछन् ।

मन्त्रालयका अनुसार मेलाको उद्देश्य युवालाई केवल तालिममा सहभागी गराउनु नभई उनीहरूको सीपलाई रोजगारी तथा उद्यमसँग जोड्नु रहेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार १८:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।