Logo

अर्थ

पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमको पाक्षिक घाटा तीन अर्ब बढी



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि भोटेकोसीमा आएको विपद्का कारण तत्काल मूल्य समायोजन नगर्ने निर्णय गरिएको निगमले जनाएको छ।

निगमका अनुसार भारतबाट असोज १४ गते प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ ४४ पैसा, डिजेलको २० रुपैयाँ २१ पैसा र मट्टितेलको १५ रुपैयाँ ९६ पैसा बढेर आएको छ। हवाई इन्धनको मूल्य पनि प्रतिलिटर १८ रुपैयाँ ६६ पैसा बढेको निगमले जनाएको छ।

नयाँ मूल्यअनुसार पेट्रोलमा निगमलाई थप भार परे पनि उपभोक्ताका लागि हाल कायम मूल्य नै निरन्तर रहनेछ। पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १९९ रुपैयाँ र तेस्रो वर्गका लागि २०० रुपैयाँ कायम गरिएको छ।

डिजेल र मट्टितेलको मूल्य पनि यसअघि निर्धारण भएकै दरमा यथावत् राखिएको छ। यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यअनुसार नेपालमा समायोजन नगर्दा निगमलाई पाक्षिक रूपमा ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा हुने निगमको भनाइ छ।

 

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार २१:१८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।