काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको हाङझाउबीच ऐतिहासिक सिधा उडान थालेको छ ।
३० सेप्टेम्बर २०२६ बुधबारदेखि सुरु भएको यो नयाँ रुटको उडानमार्फत हिमालयले नेपाल र चीनबीच हवाई सम्पर्क सुदृढ गर्ने लक्ष्य राखेको बताएको छ ।
हिमालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हाङझाउस्थित हाङझाउ सियाओसान अन्तर्राष्ट्रिय विमानस्थलबीच सिधा उडान सुरु गरेको हो । काठमाडौं–हाङझाउ–काठमाडौं रुटमा अहिले सातामा दुई उडान हुने छन् ।
काठमाडौंबाट हाङझाउका लागि उडान प्रत्येक आइतबार र बुधबार प्रस्थान हुन्छ भने हाङझाउबाट काठमाडौंका लागि फर्कने उडान प्रत्येक सोमबार र बिहीबार सञ्चालन हुने गरी तय भएको छ ।
पहिलो उडान मार्फत १ सय ५४ चिनियाँ पर्यटक काठमाडौं आएका छन् । यो नयाँ सेवाले यात्रु पहुँच वृद्धि गर्दै नेपाल र चीनबीचको लामो समयदेखिको सम्बन्ध अझै मजबुत बनाउने कम्पनीको भनाइ छ ।
हिमालय एयरलाइन्सका उपाध्यक्ष एवं प्रवक्ता विजय श्रेष्ठले हिमालयको मुख्य उद्देश्य चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान सञ्चालन गर्ने र १० लाख चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्ने रहेको बताए ।
उनले हिमालयले सधैं चीनमा नयाँ–नयाँ गन्तव्य खोज्दै नियमित उडान सञ्चालन गर्दै आएको समेत बताए ।



















प्रतिक्रिया