Logo

प्रमुख समाचार

सानेपा घटनाले दुख्यो कांग्रेसका युवा नेताहरूको मन, नेविसंघलाई यस्तो आग्रह



नेपाली कांग्रेसको पार्टी मुख्यालयमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का दुई समूहबीच भएको झडपलाई लिएर कांग्रेसका युवा नेताहरूले चिन्ता जनाएका छन् ।कम्युनिस्ट सरकारले मुलुकमा अधिनायकवाद ल्याएर संविधानले दिएका अधिकार खोस्ने षड्यन्त्र गरिरहेका बेला नेविसंघका विद्यार्थी नेता तथा कार्यकर्ताहरू एकआपसमा भिडेको भन्दै कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाका साथै कांग्रेसका युवा नेता ऋषि पुरी, युवा नेता एवम् व्यवसायी प्रज्ञान न्यौपानेले सानेपामा आइतबार भएको घटनाप्रति चिन्ता जनाएका हुन् ।

नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले पार्टी कार्यालय सानेपामा आइतबार नेविसंघका भाईबहिनीहरूले देखाएको क्रियाकलापबाट आफू चिन्तित बनेको बताए ।रिपब्लिका दैनिकसँग कुरा गर्दै उनले भने, ‘चित्त नबुझेको कुरालाई लोकतान्त्रिक पद्धतिबाट भन्न सकिन्छ । एकले अर्कालाई आक्रमण गर्नु राम्रो होइन । यस्ता खालका क्रियाकलापलाई नियन्त्रण गर्नुपर्छ ।’

नेविसंघभित्र केही व्यक्तिको स्वार्थले पनि खेलेका हुन सक्ने उनले बताए । ‘नेविसंघ नेपाली कांग्रेसको मेरुदण्ड नै हो’, युवा नेता खतिवडाले भने, ‘कांग्रेसको नेतृत्वले पनि छिटोभन्दा छिटो नेविसंघको विवाद अन्त्य गरेर महाधिवेशनबाट नयाँ नेतृत्वका लागि पहल लिनुपर्छ ।’ खतिवडाले विद्यार्थी नेताहरूलाई कांग्रेस र नेविसंघको गरिमालाई ध्यान दिन आग्रह गरेका छन् ।

नेपाली कांग्रेसका युवा नेता ऋषि पुरीले पनि कम्युनिस्टहरू निरंकुश बनेर आइरहेका बेला नेविसंघभित्रको विवादले आफूलाई चिन्तित बनाएको बताए ।तरुण दलका नेता समेत रहेका पुरीले कांग्रेस एक हुन लागिरहेका बेला केही अराजक तत्व सलबलाउन थालेको भन्दै सर्तक हुन कांग्रेस नेतृत्वलाई आग्रह गरेका छन् ।

‘कम्युनिस्टहरूको निरंकुशता विरुद्ध भिड्ने बेला नेविसंघका नेता तथा कार्यकर्ताहरू आफै लड्ने कुरा राम्रो होइन’, पुरीले भने, ‘नेविसंघभित्र अराजकता मच्चाउनेहरूलाई कारबाही गरिनुपर्छ ।’नेपाली कांग्रेसका नेताहरू उत्पादन हुने नर्सरीभित्रै आफू आफू भिड्ने कार्यले देशभरिका कांग्रेसका शुभेच्छुकहरू चिन्तित बनेको उनले बताए ।

नेपाली कांग्रेसका युवा नेता एवम् व्यवसायी प्रज्ञान न्यौपानेले सरकारविरुद्ध लड्ने बेला नेविसंघका विद्यार्थी नेता तथा कार्यकर्ताहरू एकआपसमा भिडेको भन्दै चिन्ता जनाए ।‘कम्युनिस्ट सरकारका बिरुद्धमा कडा आवाज उठाउँछन् की भनेको त आफू आफूमा लडेर पो सकिन्छन कि क्या हो ?’, फेसबुकमा स्टाटस लेखेर न्यौपानेले भनेका छन्, ‘एकले अर्कालाई कमजोर पार्छुभन्दा भन्दै आफै सकिएको थाहा नै छैन कि क्या हो ?’

पार्टी मुख्यालय सानेपामा कृष्णप्रसाद सिटौला समूहका विद्यार्थी सभापति शेरबहादुर देउवा निकटका विद्यार्थी नेताहरूमाथि आक्रमण गरेपछि दुबै पक्षबीच ढुंगा हानाहान भएको थियो । झडपमा केही विद्यार्थी नेता घाइते भएका छन् ।
सिटौला समूहका विद्यार्थी नेताहरू उग्र बनेपछि प्रहरीले हस्तक्षेप गरेर विद्यार्थी नेताहरूलाई पार्टी कार्यालयबाट भगाएको थियो ।

प्रकाशित मिति : फाल्गुन १३, २०७५ सोमबार  ३ : ४० बजे