तनहुँ । तनहुँको झाँगाझोली क्षेत्रमा रहेको झाँगाझोली भिलेज रिसोर्ट पछिल्लो समय आन्तरिक पर्यटक तथा प्रकृतिप्रेमीहरूका लागि आकर्षणको गन्तव्य बन्दै गएको छ। प्राकृतिक वातावरण, शान्त परिवेश र स्थानीय मौलिकतासँगै पर्यटकलाई आवश्यक आतिथ्य प्रदान गर्ने उद्देश्यले रिसोर्ट सञ्चालनमा ल्याइएको हो।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण क्षेत्रमा अवस्थित रिसोर्टले पर्यटकलाई आरामदायी बसाइसँगै मनोरञ्जन र पारिवारिक वातावरण उपलब्ध गराउँदै आएको छ। शहरको भीडभाड र दैनिक व्यस्तताबाट केही समय टाढा रहेर प्रकृतिसँग रमाउन चाहनेहरूका लागि रिसोर्ट उपयुक्त गन्तव्य बन्न सक्ने सञ्चालकको भनाइ छ। 
रिसोर्ट परिसरमा वनस्पति तथा जडीबुटीजन्य पार्क, विभिन्न प्रजातिका फलफूलको बगैँचा तथा लोपोन्मुख सामग्रीहरूको संग्रहालयसमेत स्थापना गरिएको छ। त्यस्तै, धार्मिक तथा सांस्कृतिक पक्षलाई समेत समेट्दै विभिन्न मठमन्दिर तथा कुण्डहरू निर्माण गरिएका छन्। प्रकृति, पर्यटन, धर्म, संस्कृति र शिक्षालाई एउटै गन्तव्यमा जोड्ने उद्देश्यले रिसोर्ट सञ्चालनमा ल्याइएको सञ्चालक बताउँछन् । शैक्षिक गतिविधिलाई समेत प्राथमिकतामा राख्दै रिसोर्टलाई आगामी दिनमा ‘एकेडेमिक रिसोर्ट’का रूपमा विकास गर्ने लक्ष्य लिइएको उनीहरूको भनाइ छ।
रिसोर्टमा पारिवारिक भेटघाट, साथीभाइसँगको जमघट, विभिन्न कार्यक्रम तथा समारोह आयोजना गर्न सकिने व्यवस्था रहेको जनाइएको छ। स्थानीय उत्पादन तथा मौलिक खानालाई समेत प्राथमिकता दिँदै आगन्तुकलाई फरक अनुभव दिने प्रयास गरिएको छ।
पोखरा तथा आसपासका क्षेत्रबाट समेत सहज रूपमा पुग्न सकिने भएकाले झाँगाझोली भिलेज रिसोर्टलाई पर्यटन प्रवर्द्धनको सम्भावनायुक्त गन्तव्यका रूपमा विकास गर्न सकिने देखिन्छ। प्राकृतिक वातावरणको संरक्षण गर्दै स्थानीय पर्यटन र रोजगारी प्रवर्द्धनमा समेत योगदान पुर्याउने लक्ष्य रिसोर्टको रहेको छ।
रिसोर्ट व्यवस्थापनका अनुसार आगामी दिनमा सेवा तथा सुविधालाई थप विस्तार गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने योजना रहेको छ। स्थानीय पर्यटनको सम्भावनालाई उजागर गर्दै गुणस्तरीय सेवा दिने उद्देश्यका साथ रिसोर्ट अघि बढिरहेको व्यवस्थापनको भनाइ छ।
प्रकृति, शान्त वातावरण र पारिवारिक आतिथ्यको संयोजन खोज्नेहरूका लागि झाँगाझोली भिलेज रिसोर्ट नयाँ गन्तव्यका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।



















प्रतिक्रिया