Logo

प्रमुख समाचार

कांग्रेसको केन्द्रीय उपसभापति पदमा दीपक गिरीको उम्मेदवारी घोषणा



काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक गिरीले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा केन्द्रीय उपसभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका गरेका छन् ।

पार्टीको वर्तमान अवस्था, बदलिँदो राजनीतिक परिस्थिति, कार्यकर्ता तथा जनताको अपेक्षा र नेपाली कांग्रेसले आगामी दिनमा निर्वाह गर्नुपर्ने भूमिकालाई ध्यानमा राख्दै आफूले उपसभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको गिरीले बताए ।

उनले आफ्नो उम्मेदवारीलाई नेपाली कांग्रेसलाई थप एकताबद्ध, संगठित, जनमुखी, लोकतान्त्रिक र गतिशील बनाउने अभियानका रूपमा प्रस्तुत गरे ।

दीपक गिरीले लामो समयदेखि नेपाली कांग्रेसको संगठन, लोकतान्त्रिक आन्दोलन र राष्ट्रिय राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।

पार्टीको संगठन निर्माणदेखि जनप्रतिनिधिका रूपमा जनताका सवाल उठाउने र राष्ट्रिय राजनीतिक विषयमा आफ्नो स्पष्ट धारणा राख्ने क्रममा उनले निरन्तर योगदान दिंदै आएका छन् ।

आफ्नो उम्मेदवारी निम्न राजनीतिक तथा संगठनात्मक प्राथमिकतामा केन्द्रित रहेको दीपक गिरीले बताए ।

उनले विभिन्न एजेन्डाहरु पनि अघि सारेका छन् । गुटभन्दा माथि उठेर समग्र कांग्रेसको एकता र सुदृढीकरण गर्न, पार्टीको संगठनलाई वडा तहदेखि केन्द्रसम्म थप सक्रिय, व्यवस्थित र परिणाममुखी बनाउन, लामो समय योगदान गरेका नेता तथा कार्यकर्ताको योगदान र क्षमताको उचित सम्मान गर्न, पार्टीभित्र आन्तरिक लोकतन्त्र, पारदर्शिता र जवाफदेहितालाई बलियो बनाउन, युवालाई पार्टीको भविष्यका रूपमा मात्र नभई वर्तमान नेतृत्व र निर्णय प्रक्रियाको महत्वपूर्ण साझेदार बनाउन आफ्नो महत्वपूर्ण एजेन्डा भएको बताए ।

त्यस्तै, महिला, युवा, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम तथा पछाडि पारिएका समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न, कांग्रेसलाई निर्वाचनको समयमा मात्र होइन, हरेक समय जनतासँग जोडिएको राजनीतिक संगठनका रूपमा स्थापित गर्न, सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको अभियानलाई पार्टीको राजनीतिक संस्कारसँग जोड्न, कृषि, रोजगारी, उद्यमशीलता, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि तथा उत्पादनमुखी अर्थतन्त्रलाई प्राथमिकता दिन।

बदलिँदो पुस्ता, प्रविधि र सामाजिक परिवेशअनुकूल आधुनिक, प्रविधिमैत्री र डिजिटल कांग्रेस निर्माण गर्न आफ्नो उम्मेदवारी भएको उनले बताए ।

पार्टी उपसभापति पदमा उम्मेदवारी घोषणा गर्दै नेता दीपक गिरीले भने,‘ नेपाली कांग्रेसलाई अझ बलियो, एकताबद्ध र जनविश्वसनीय बनाउने जिम्मेवारी लिन आएको हुँ।

मेरो उम्मेदवारी समग्र कांग्रेसको पक्षमा हो। कांग्रेसका कार्यकर्ता हाम्रो संगठनको शक्ति हुनुहुन्छ। उहाँहरूको सम्मान, योगदानको उचित मूल्यांकन र भविष्यप्रतिको विश्वास नै मेरो राजनीतिक प्राथमिकता हो।’

गिरीले कांग्रेसलाई ‘पदको प्रतिस्पर्धाभन्दा नीति, विचार र परिणामको प्रतिस्पर्धा गर्ने पार्टी’ बनाउनुपर्ने आवश्यकता औँल्याउँदै आगामी महाधिवेशनलाई नेतृत्व चयनसँगै पार्टीको नीति, संगठन र भविष्यको दिशाबारे गम्भीर बहस गर्ने अवसरका रूपमा लिनुपर्ने बताए ।

उनले आफ्नो राजनीतिक अनुभव, संगठनसँगको लामो सम्बन्ध र कार्यकर्ता तथा जनतासँगको निरन्तर सम्पर्कलाई आगामी नेतृत्वको आधार बनाउँदै अनुभव र नयाँ पुस्ताको ऊर्जालाई जोडेर कांग्रेसलाई थप सशक्त बनाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

‘गुटभन्दा माथि कांग्रेस, पदभन्दा माथि जिम्मेवारी र भाषणभन्दा माथि परिणाम’ भन्ने मूल भावनासहित आफूले महाधिवेशन प्रतिनिधि, नेता तथा कार्यकर्ताको विश्वास र समर्थनका लागि उम्मेदवारी प्रस्तुत गरेको उनले बताए ।

गिरीको राजनीतिक यात्रा ः

बीपी कोइरालाको सान्निध्यमा बनारस देखि विद्यार्थी राजनीतिमा होमिएका गिरी २०३३ सालदेखि नेपालको लोक तान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएका छन्।

कांग्रेसको लोकतान्त्रिक मूल्य, राष्ट्रियता, सामाजिक न्याय र जनअधिकारप्रतिको प्रतिबद्धतालाई राजनीतिक जीवनको आधार बनाउँदै उनी निरन्तर सक्रिय रहेका छन् । पार्टी संगठनलाई स्थानीय तहदेखि जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म सुदृढ बनाउने अभियानमा निरन्तर भूमिका निर्वाह गरेका गिरी

दाङलगायत पश्चिम नेपालका जनताको आवाजलाई राष्ट्रिय राजनीतिमा प्रभावकारी रूपमा उठाउँदै आएका छन्। पूर्व सांसद तथा मंत्रीको रुपमा उनले

जनतासँग प्रत्यक्ष संवाद र स्थानीय आवश्यकता तथा समस्यालाई नीति निर्माणसँग जोड्ने प्रयास गरे । त्यस्तै नेपाली कांग्रेसभित्र संगठन, कार्यकर्ता र जनसम्बन्धलाई राजनीतिक शक्तिको मूल आधारका रूपमा स्थापित गर्न निरन्तर जोड दिए ।

लोकतान्त्रिक आन्दोलनका मूल्य, विधिको शासन, अभिव्यक्ति स्वतन्त्रता तथा संविधानको संरक्षणप्रति उनको स्पष्ट प्रतिबद्धता छ ।

लामो समय पार्टीमा योगदान गरेका नेता तथा कार्यकर्ताको सम्मान र नयाँ पुस्तालाई नेतृत्वको अवसर दिने पक्षमा निरन्तर वकालत गर्दै आएका गिरीले राष्ट्रिय राजनीतिमा देखिएका चुनौतीबीच नेपाली कांग्रेसलाई नीति, विचार र संगठनका आधारमा पुनः सशक्त र जनविश्वसनीय राजनीतिक शक्तिका रूपमा स्थापित गर्नुपर्ने धारणा राख्दै आएका छन् ।

नयाँ कांग्रेसको परिकल्पना

गिरीले आफ्नो उम्मेदवारी केवल पद प्राप्तिको प्रयास नभई अनुभव, संगठन र नयाँ राजनीतिक पुस्ताबीचको सेतु निर्माण गर्दै नेपाली कांग्रेसलाई आगामी पुस्ताको भरोसायोग्य, जनमुखी र आधुनिक लोकतान्त्रिक शक्ति बनाउने अभियानका रूपमा प्रस्तुत गरे ।

उनले आगामी दिनमा कांग्रेसलाई एकताबद्ध संगठन, स्पष्ट नीति, सक्षम नेतृत्व, सम्मानित कार्यकर्ता, सक्रिय जनसम्बन्ध र परिणाममुखी राजनीतिको आधारमा अघि बढाउनुपर्ने आवश्यकतामा जोड दिए ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आईतवार १८:२५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।