Logo

राजनीति

कांग्रेस महाधिवेशन: बन्द सत्रको एजेन्डा तय गर्न बस्दै केन्द्रीय कार्यसमिति बैठक, नेताहरू खुलामञ्चमा 



काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि नयाँ नेतृत्व चयनका लागि औपचारिक निर्वाचन प्रक्रिया सुरु हुँदै छ । आइतबार काठमाडौँको खुलामञ्चमा महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएसँगै कांग्रेस बन्द सत्र हुँदै निर्वाचन प्रक्रियातर्फ अघि बढ्न लागेको हो ।

खुलामञ्चमा केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । केन्द्रीय समितिको बैठकका लागि कांग्रेसका नेताहरू खुल्लामञ्चमा आउन थालेका छन् । चिया नास्ता र खाजा पछि नेताहरू खुल्लामञ्चमा आउन थालेका हुन् ।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार पार्टीको १५औँ महाधिवेशन अन्तर्गतको बन्द सत्रमा पेस गर्ने प्रतिवेदनमाथि केन्द्रीय कार्यसमितिले पारित गरेपछिमात्र बन्द सत्र सुरु गर्ने कार्यक्रम रहेको छ ।

उनले भने, ‘पार्टीले विभिन्न समितिलाई जिम्मेवारी दिएको छ । त्यो जिम्मेवारीअनुसार उहाँहरूले प्रस्ताव पेश गर्नुहुन्छ सही अनुसार नै बैठकले एजेन्डा अनुमोदन गर्छ र सोही आधारमा बन्द सत्र बस्ने छ ।’

उनका अनुसार बन्द सत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन, महामन्त्रीको विधान संशोधन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको छ ।

बन्द सत्रमा पार्टीका राजनीतिक तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ । बन्द सत्र सम्पन्न भएपछि महाधिवेशनको मुख्य कार्यभारका रूपमा रहेको नयाँ केन्द्रीय कार्यसमिति चयनको निर्वाचन प्रक्रिया अघि बढ्नेछ ।

महाधिवेशन निर्वाचन समितिले साँझ ५ बजे महाधिवेशन प्रतिनिधिको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ । मतदाता नामावली प्रकाशन भएपछि त्यसउपर दाबी विरोध तथा छानबिनको प्रक्रिया अघि बढ्ने छ । प्राप्त दाबी विरोधमाथि आवश्यक जाँचबुझ गरेपछि अन्तिम मतदाता नामावली प्रकाशन गरिने छ ।

निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिलाई निर्वाचनमा सहभागी गराउने गरी आवश्यक तयारी अघि बढाएको छ ।

मंगलबार उम्मेदवारी मनोनयन

निर्वाचन कार्यतालिकाअनुसार मंगलबार उम्मेदवारी मनोनयन दर्ताको प्रक्रिया अघि बढ्नेछ । कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिका लागि सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता हुनेछ ।

उम्मेदवारी मनोनयनसँगै कांग्रेसको नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा थप स्पष्ट हुने अपेक्षा गरिएको छ । सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षी नेताहरूले यसअघि नै आन्तरिक छलफल तथा भेटघाटलाई तीव्र बनाउँदै आएका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार १०:३९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।