काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगा बीच अमेरिकाको वासिङ्टन डीसीमा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ।
बांगाको निमन्त्रणामा अमेरिका पुगेका अर्थमन्त्री वाग्लेले भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण, बृहत् आर्थिक सुधार, बिमा तथा सामाजिक संरक्षणका लागि करिब १ अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालनबारे छलफल गरेका हुन्।
अर्थमन्त्रीको सचिवालयका अनुसार भेटमा अध्यक्ष बांगाले बाढीबाट नेपालमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणका लागि विश्व बैंकले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
बांगाले नयाँ सरकारले अघि बढाएका नीतिगत तथा संस्थागत सुधारका कदमको प्रशंसा गर्दै पूर्वाधारमा लगानी बढाउन र स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए।
नेपालको प्राथमिकताका क्षेत्रमा संयुक्त लगानी विस्तार गर्न विश्व बैंकले एसियाली विकास बैंक (एडीबी), अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) लगायत विकास साझेदारसँग समन्वय गरी नयाँ पहल गर्ने बांगाले बताएका थिए।
नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनका अनुसार पछिल्लो तीन दशकमा विश्व बैंकका अध्यक्ष र नेपालका अर्थमन्त्रीबीच भएको यो पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हो।
भेटमा विश्व बैंकका उपाध्यक्षद्वय जहानस जट र जुनेद अहमदलगायत उच्च पदस्थ अधिकारीको सहभागिता थियो।




















प्रतिक्रिया