Logo

प्रमुख समाचार

बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि छोट्याइयो, तीन अध्यादेश जारी गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्नुपर्ने अवधि घटाएर ४५ दिन कायम गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि १२ वर्ष रहेको उक्त अवधि घटाएर ४५ दिनमा सीमित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

त्यस्तै, राष्ट्रिय मानव अधिकार आयोगले क्षतिपूर्तिका लागि सिफारिस गरेका १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

पोर्चुगल सरकारलाई काठमाडौंमा महावाणिज्य दूतावास (कन्सुलेट जेनेरल) स्थापना गर्न सहमति दिने निर्णय भएको मन्त्री पोखरेलले बताए।

बैठकले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्ने निर्णयसमेत गरेको छ।

मन्त्रिपरिषद्ले नेपाल इन्जिनियरिङ सेवा, समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव नवीनराज सिंहलाई बढुवा गर्ने निर्णय गरेको छ। त्यस्तै, नेपाल प्रशासन सेवा, समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव चक्रबहादुर बुढालाई बढुवा गरिएको छ।

नेपाल लेखापरीक्षण सेवा, समूहीकरणतर्फ राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा नायब महालेखापरीक्षक चन्द्रकान्त भण्डारीलाई बढुवा गर्ने निर्णय पनि बैठकले गरेको छ।

 

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार १८:५९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।