काठमाडौं । खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सह–महामन्त्री पदका उम्मेदवार विकास कोइरालाले आफू विद्यार्थी राजनीतिदेखि पार्टीको विभिन्न तहमा रहेर प्रतिस्पर्धा र सहकार्य गर्दै आएको बताएका छन् ।
उनले विगतका मतभेद र कमीकमजोरीलाई छाडेर युवा पुस्ताको सहभागिता र संगठन सुदृढीकरणका लागि आफू उम्मेदवार बनेको बताए ।
बुधबार प्रचारप्रसारका क्रममा बोल्दै कोइरालाले आफूले पार्टीभित्र लामो समय अन्याय भोग्नुपरेको बताए । उनले आफूले जेल जीवनसमेत बिताउनुपरेको उल्लेख गर्दै विगतका घटनाबाट आफूले ठूलो पीडा भोगेको बताए ।
‘छ वर्षको कार्यकालमा छ वर्षभित्रको सजाय पाउनुपर्ने ठाउँमा म १२–१२ वर्षसम्म जेलभित्र बसेँ,’ उनले भने, ‘१२–१२ वर्षसम्म म खुम्चिएर बसेँ, पिँजडाभित्र बसेँ । पिँजडाभित्रबाट तपाईंहरूको अगाडि उड्न खोज्दै छु, पखेटा जोड्न खोज्दै छु ।’
उनले आफूलाई विगतमा समर्थन गर्न नसकेका वा आफूसँग असहमत रहेका विद्यार्थी तथा पार्टीका कार्यकर्ताले समेत यसपटक आफूलाई न्याय गर्नुपर्ने धारणा राखे । आफ्नो उम्मेदवारीले संगठनलाई मजबुत बनाउने, कार्यकर्तालाई जोड्ने र संरक्षण गर्ने उद्देश्य रहेको उनको भनाइ छ ।
उनले कांग्रेसका सभापति पदका उम्मेदवार गगन थापासँग समेत पटक–पटक छलफल र परामर्श गरेको बताए । थापासँग विगतमा प्रतिस्पर्धा भए पनि अहिले उनको नेतृत्व स्वीकार गरेर अघि बढ्ने बताए ।
पार्टीभित्र भविष्यमा न्यायका विषयमा मतभेद देखिए आफूले त्यसबारे आवाज उठाउने भए पनि अहिले सहकार्य गरेर अघि बढ्नु आवश्यक रहेको उनले बताए ।
उनले चितवन कांग्रेसभित्र नेताहरूबीच एकताको वातावरण बनेको दाबी गर्दै महाधिवेशनपछि सबै मिलेर संगठन निर्माणमा लाग्ने बताए ।
‘हामी एकबद्ध तरिकाले यहाँबाट चितवन गएर चितवनको संगठन निर्माण गर्न जान्छौँ भन्ने हामीलाई विश्वास छ,’ उनले भने ।
चितवनमा कांग्रेसको राजनीतिक अवस्था कमजोर हुनुका कारणमध्ये आफूले विगतमा भोगेको अन्याय पनि एउटा कारण भएको उनले बताए ।
उनले विगतका कमजोरी सच्याउने समय आएको भन्दै चितवनबाटै संगठनभित्र देखिएका समस्या सुधार गर्न सके त्यसको सकारात्मक प्रभाव देशभर पर्ने पनि बताए ।



















प्रतिक्रिया