काठमाडौं । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा विभिन्न क्लस्टर तथा समूहबाट केन्द्रीय सदस्यका उम्मेदवारहरूले पार्टीलाई थप समावेशी, युवामैत्री र जनमुखी बनाउनुपर्नेमा जोड दिएका छन् ।

अपाङ्गता क्लस्टरतर्फबाट केन्द्रीय सदस्य पदकी उम्मेदवार निर्मला श्रेष्ठले कांग्रेसले समावेशिताको अभ्यास अघि बढाए पनि अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व पर्याप्त हुन नसकेको बताइन् । उनले अपाङ्गता भएका व्यक्तिका लागि छुट्याइएको कोटामा पनि प्रतिनिधित्व बढाउनुपर्ने आवश्यकता रहेको बताइन् ।

उनले भनिन्, ‘कांग्रेसले प्रजातान्त्रिक अभ्यास सुरु गरेको छ । अशक्त व्यक्तिहरूको पनि यो कांग्रेसमा समावेश हुनुपर्छ भनेर देखाएको छ । आवाजविहीन व्यक्तिहरूको आवाजका लागि कोटा खडा गर्‍यो, तर वास्तवमा अपाङ्ग कोटा यसपटक अपहेलितमा परेको छ ।

२९५ भनेर सङ्ख्या बढाउँदै गर्दा अपाङ्ग कोटामा एक जना, जम्मा नेपालभर एक जना अपाङ्ग—न महिला, न पुरुष भनेर त्यहाँ अलिकति आवाज नसुनिएको हो कि अथवा त्यो आवाजलाई हामीले उच्च बनाउन सकेनौँ कि भन्ने लागेको छ । समग्रमा समावेश गरिसकेको छ, सबै पाउन सकिँदैन । तर जुन गरिएको छ, त्यसमा चाहिँ अलिकति कम छ।’

श्रेष्ठले महाधिवेशनको तयारीका क्रममा आन्तरिक समस्याका कारण आफूहरू समयमै महाधिवेशनस्थलमा प्रवेश गर्न नसकेको र त्यसले अपाङ्गता भएका व्यक्तिका एजेन्डा उठाउन समस्या भएको पनि बताइन् ।

उनले भनिन्, ‘दुःखका साथ भन्नुपर्छ, हामी बन्दसत्र भित्र जान पाएनौँ । आन्तरिक जुन किचलोहरू थिए, त्यसले गर्दा नाम दर्ता गर्ने क्रममा हामी आधिकारिक व्यक्ति भएर भित्र छिर्न पाउनुपर्थ्यो, तर फाइलहरू पाउन नसक्दा रजिस्ट्रेसन नपाउँदा हामी भित्र छिर्न पाएनौँ । त्यसैले हाम्रो आवाजहरू सुन्न र त्यहाँ सुनाउन पाइएन । अबका दिनमा त्यस्ता गल्ती हुनुहुँदैन ।’

उनका अनुसार निर्वाचनको तयारीमा केन्द्रित हुनुपर्दा अपाङ्गता भएका व्यक्तिका मुद्दा र प्रस्तावमाथि पर्याप्त छलफल हुन सकेन । ‘निर्वाचनको एउटा रन्को यतापट्टि छँदैछ, उता हामी भित्र छिर्न नपाएपछि त्यताभन्दा हामी यतापट्टि नै अल्मलियौँ । हामी त्यहाँ पनि अलिकति पिछडिनुपर्‍यो,’ उनले भनिन् ।

प्रतिनिधिसभा सदस्य एवं केन्द्रीय सदस्यका उम्मेदवार नरेन्द्रकुमार केरुङले नयाँ केन्द्रीय समितिले मुलुकमा बढेको निराशा र नकारात्मकतालाई चिर्ने संकल्पसहित काम गर्नुपर्ने बताए ।

उनले भने, ‘म आफू पनि केन्द्रीय सदस्यको उम्मेदवार हुँ । भोलिबाट निर्वाचित हुने टिमले यो मुलुकका समसामयिक समस्याहरू, निराशाका समस्या र जनतामा रहेको नेगेटिभिटीको समस्यालाई समाधान गर्ने एउटा सङ्कल्प बोकेर गाउँ जाँदैछौँ । मुलुकले भोलिको केन्द्रीय समितिबाट केही न केही नयाँ किसिमको अनुभूति प्राप्त गर्दछ।’

महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई निर्वाचनको समय लम्बिँदा परेको असुविधाप्रति उनले क्षमासमेत मागे । विशेषगरी प्रवास तथा टाढाबाट आएका प्रतिनिधिहरूले फर्किने टिकट पहिले नै लिएको भन्दै उनले निर्वाचन सकेसम्म बिहानै सम्पन्न गर्ने प्रयास भइरहेको बताए ।

उनले भने, ‘टाढा–टाढाबाट आउनुभएका र प्रवासबाट आउनुभएका प्रतिनिधिज्यूहरूले आउँदाखेरि नै रिटर्न टिकट गरिसक्नुभएको हुन्छ । त्यस सन्दर्भमा केही अप्ठ्यारो महसुस भयो । भोलि बिहान ७ बजेदेखि निर्वाचन सम्पन्न गरेर फर्किन चाहनुहुने प्रतिनिधिहरूलाई सहज वातावरण बनाउन हामी लबिङ गरिरहेका छौँ।’

एक दिन निर्वाचन प्रक्रिया होल्ड भएकोप्रति क्षमा माग्दै उनले महाधिवेशन ऐतिहासिक हुने दाबी गरे ।

‘आयोजकको नाताले उहाँहरूसँग सरी भन्नुपर्दछ, क्षमा चाहन्छौँ हामी । तर मुलुकलाई परिवर्तन गर्ने एउटा हुटहुटी लिएर, एउटा सुनामी लिएर नेपाली कांग्रेसको महाधिवेशन सम्पन्न हुन लागेको छ । यो एकदमै ऐतिहासिक छ,’ उनले भने ।

यसैगरी, ३५ वर्षमुनिका युवा क्लस्टरबाट केन्द्रीय सदस्य पदका उम्मेदवार प्रविन लाल दासले जेन्जी आन्दोलनपछि बदलिएको युवाको भावना र आवाजलाई कांग्रेसको मूलधारमा लैजाने प्रतिबद्धता जनाए ।

उनले भने, ‘जेन्जी आन्दोलनपछिको बदलिएको कांग्रेसमा मैले जस्तै विद्यार्थी राजनीतिमा रहेर संघर्ष गरेका युवाहरू र उहाँहरूले भोगेको पीडा तथा युवाको आवाज पार्टी कार्यालयसम्म पनि पुर्‍याउन नसकेको अवस्थामा युवाको आवाज पार्टीको मूलधारमा लैजाने प्रयास गर्नेछु । अबको नेतृत्व सुधारिएको, परिवर्तनशील र युवामैत्री हुनेछ।’

थारू महिला क्लस्टरबाट केन्द्रीय सदस्य पदकी उम्मेदवार सुनिता कुमारी राना थारूले आफू पछाडि परेको समुदायको प्रतिनिधित्व गर्दै कांग्रेसलाई थप समावेशी, बलियो र युवामैत्री बनाउन उम्मेदवारी दिएको बताइन् ।

उनले भनिन्, ‘नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा थारू महिला क्लस्टरबाट मेरो सशक्त दाबी केन्द्रीय सदस्यका लागि छ । नेपाली कांग्रेसजस्तो पार्टीलाई हामीले सशक्त र बलियो बनाउनुछ, युवामय बनाउनुछ र सबैको समावेशी पार्टी बनाउनुछ।’

थारूले कैलाली र कञ्चनपुरमा रहेको रानाथारू समुदाय शिक्षा, स्वास्थ्य र राजनीतिलगायतका क्षेत्रमा अझै पछाडि रहेको बताइन् । आफूले समुदायको नेतृत्व गर्दै राज्यका स्रोत, साधन र अवसरमा पहुँच स्थापित गर्न पहल गर्ने उनको भनाइ छ ।

उनले भनिन्, ‘कैलाली र कञ्चनपुरमा मात्रै हाम्रो समुदाय रहेको छ । त्यो समुदाय शिक्षा, स्वास्थ्य र राजनीतिमा कुनै पनि मूलधारमा छैन । सबैमा पछाडि परेको जात हो । मेरो समुदाय सबैभन्दा पछाडि परेको समुदाय हो, अल्पसङ्ख्यक हो ।

राज्यका स्रोत, साधन र प्रणालीसँग उहाँहरूको डाइरेक्ट लिङ्क छैन । त्यसका लागि म मेरो समुदायलाई लिड गर्न चाहन्छु । एउटा पहिचान दिलाउनका लागि पनि मेरो उम्मेदवारी हो।’

उनले रानाथारू समुदायको उत्थान र हरेक क्षेत्रमा विकासका लागि कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताइन् ।

रानाथारूले पार्टीभित्र सबै समुदायलाई समेट्ने गरी विधान र निर्देशिका निर्माण गरिएको दाबी गर्दै त्यसलाई व्यवहारमा कार्यान्वयन गर्ने नेतृत्व आवश्यक रहेको बताइन् । ‘हामीसँग सबै जना अटाउने खालको विधान छ ।

सबैलाई समेट्ने खालको निर्देशिका छ । सबै जना त्यसमा मज्जाले लिड गर्न सक्ने तागत र क्षमता हामीसँग छ । त्यस्तो खालको नेतृत्व आजको आवश्यकता हो,’ उनले भनिन् ।

कांग्रेसको १५औँ महाधिवेशनमा उम्मेदवारहरूले समावेशिता, युवा सहभागिता, पछाडि परेका समुदायको प्रतिनिधित्व तथा पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने विषयलाई प्राथमिकतामा राखेका छन् । आगामी निर्वाचनबाट आउने नयाँ केन्द्रीय समितिले पार्टीलाई थप गतिशील र जनमुखी बनाउने अपेक्षा उम्मेदवारहरूले व्यक्त गरेका छन् ।