काठमाडौं । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि शुक्रबार मतदान भइरहेको छ । खुलामञ्च र राष्ट्रिय सभागृहमा जारी मतदानमा सहभागी प्रतिनिधिहरू उत्साहित देखिएका छन् ।
मतदान प्रक्रिया केही समय लाग्ने भएपनि व्यवस्थापन व्यवस्थित रहेको र यस महाधिवेशनबाट सक्षम तथा समावेशी नेतृत्व चयन हुने प्रतिनिधिहरूले विश्वास व्यक्त गरेका छन् ।
ललितपुर महानगरपालिकाका प्रमुख एवं केन्द्रीय सदस्यका उम्मेदवार चिरिबाबु महर्जनले मतदान गर्न ३० देखि ४० मिनेट लागेको बताए । उनले मतदानस्थलको व्यवस्थापन राम्रो रहेको तर उम्मेदवार र मतपत्रको संख्या धेरै भएकाले प्रक्रिया केही समय लाग्ने गरेको बताए ।
उनले भने, ‘माथि व्यवस्थापन राम्रो छ । उम्मेदवार र मतपत्र धेरै भएकाले समय लाग्ने रहेछ । तर सिस्टमेटिक नै छ, कन्फ्युजन छैन । मैंले ब्रह्मले देखेअनुसारले सही मान्छेलाई भोट दिएँजस्तो लाग्छ । यो एउटा प्रजातान्त्रिक संस्कार हो ।’
उनले मतदान प्रक्रिया पूरा गर्न केही समय लागे पनि भित्रको व्यवस्थापन चुस्त र दुरुस्त रहेको बताए । लाइनमा बस्दा घामका कारण केही असहज भए पनि मतदान गरेर बाहिर निस्किएपछि मतदाता खुसी हुने उनको भनाइ छ ।
यस्तै, चितवनको खैरहनी नगरपालिकाका नगर प्रमुख शशीकुमार खनियाले मतदान गर्दा राष्ट्रका लागि योगदान दिएको अनुभूति भएको बताए । उनले कांग्रेसभित्रका भ्रष्टाचार, बेथिति र कमजोरी सुधार गर्न यस महाधिवेशनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘मतदान गर्दा राष्ट्रको लागि योगदान दिएको जस्तो अनुभव भयो । भ्रष्टाचार, बेथिति र पार्टी सुधार्नका निम्ति मतदानले पक्कै पनि अब कांग्रेस सुधारिएर आउँछ भन्ने कुरा विश्वास लिएको छु ।’
उनले महाधिवेशनले युवाहरूलाई उत्साहित बनाउनुका साथै पार्टीलाई थप समावेशी बनाएको बताए । गाउँ फर्किएपछि पार्टी सुधारका विषयमा बस्ती–बस्ती र गाउँ–गाउँमा सन्देश पुर्याउने उनको भनाइ छ ।
त्यस्तै, कलाकार तथा केन्द्रीय सदस्यका उम्मेदवार शिवहरि नेपालले अघिल्लो दिनको तुलनामा शुक्रबार मतदान व्यवस्थापन सहज भएको बताए । उनका अनुसार मतपत्रलाई २३ वटा छुट्टाछुट्टै स्थानमा व्यवस्थापन गरिएकाले उम्मेदवारको नाम खोज्न सहज भएको छ । उनले भने, ‘सजिलो भइरहेको छ । सिस्टमेटिक बनाएको रहेछ । २३ वटा भिन्न–भिन्नै ठाउँमा तल, माथि, बाहिर, भित्र सबै गरेर मिलाएको छ, सहज छ ।’
आफू पनि उम्मेदवार रहेको उल्लेख गर्दै उनले आफूले पार्टीमा गरेको योगदानका कारण जित्ने विश्वास व्यक्त गरे ।
यसैगरी, सिन्धुलीकी मतदाता बालकुमारी श्रेष्ठले मतदान व्यवस्थापन राम्रो भए पनि उम्मेदवार छनोट गर्न आधा घण्टाजति समय लाग्ने गरेको बताइन् ।
उनले विभिन्न क्लस्टरबाट समावेशी प्रतिनिधित्व सुनिश्चित गरिएकाले यस महाधिवेशनबाट सक्षम नेतृत्व चयन हुने अपेक्षा व्यक्त गरिन् । उनले भनिन्, ‘व्यवस्थापन राम्रै छ, फटाफट हुने तर अब एक जनाले कम्तीमा पनि आधा घण्टा समय लाग्ने रहेछ । क्लस्टरवाइज भएको हुनाले समय लाग्ने रहेछ ।’
उनले महिला, मधेसी तथा पिछडिएका समुदायलाई समेटेर नेतृत्व चयन गर्ने प्रक्रिया समावेशी रहेको बताइन् ।
महाधिवेशनअन्तर्गत भइरहेको मतदानबाट पार्टीको आगामी नेतृत्व चयन हुनेछ । मतदानमा सहभागी प्रतिनिधिहरूले नयाँ नेतृत्वले पार्टीभित्रका कमजोरी सुधार गर्दै युवाको सहभागिता र समावेशितालाई थप प्राथमिकता दिने अपेक्षा गरेका छन् ।



















प्रतिक्रिया