काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सकिएको छ।
अन्तिम मतपरिणामअनुसार उपसभापतिमा खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य विजयी भएका छन् भने समावेशीतर्फ बिनोदकुमार चौधरी निर्वाचित भएका छन्।
महामन्त्रीको खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणाले बाजी मारेका छन्। महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) निर्वाचित भएकी छन्।
उपसभापति खुलातर्फ भण्डारीलाई सर्वाधिक मत
उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारीले ३ हजार ७३५ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका छन्। विजयी अर्का उम्मेदवार ई. मधु आचार्यले २ हजार ३४२ मत पाएका छन्।
यस पदका अन्य उम्मेदवारमध्ये गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा. डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरेका छन्।
समावेशीतर्फ चौधरी निर्वाचित
उपसभापतिको समावेशीतर्फको एक पदमा बिनोदकुमार चौधरी निर्वाचित भएका छन्। उनले १ हजार ७४५ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८ मत पाएका छन्।
त्यस्तै, फरमुल्लाह मंसुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरेका छन्।
महामन्त्रीमा पौडेल र राणाको जित
महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले सर्वाधिक ४ हजार १९४ मत प्राप्त गर्दै विजय हासिल गरेका छन्। अर्का विजयी उम्मेदवार उदयशमशेर राणाले २ हजार ३३० मत पाएका छन्।
अन्य उम्मेदवारमध्ये डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुन मगरले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरेका छन्।
महिला महामन्त्रीमा संग्रौला विजयी
महिला महामन्त्रीको एक पदमा डा. डिला संग्रौला (पन्त) निर्वाचित भएकी छन्। उनले ३ हजार ११८ मत प्राप्त गर्दा प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ मत पाइन्। अर्की उम्मेदवार रिता खनालले ८०४ मत प्राप्त गरेकी छन्।
मतगणना सकिएसँगै कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत यी पदको निर्वाचन परिणाम सार्वजनिक भएको छ।




















प्रतिक्रिया