नेपाल भ्रमणमा आएका अमेरिकी उप–सहायक रक्षामन्त्री जोसेफ एच फेल्टरको अभिव्यक्तिलाई लिएर चीनले आपत्ति जनाएको छ ।नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल–चीन सम्बन्धमा अनावश्यक टिप्पणी सह्य नहुने बताइन् ।
अमेरिकातर्फ संकेत गर्दै राजदूत होउले ‘कोसौं टाढाको मुलुकले असल छिमेकी नेपाल र चीनको सम्बन्धबारे बोल्नु अनुचित रहेको टिप्पणी गरिन् । फेल्टरले सोमबार रक्षामन्त्री ईश्वर पोखरेलसँगको भेटमा नेपालमा चिनियाँ लगानी बढेकामा चासो व्यक्त गर्दै त्यसबारे प्रश्न उठाएका थिए ।
‘नेपाल र चीन हिमाल र दनी नाला जोडिएका असल छिमेकी मुलुक हुन्’, चीनको महत्वाकांक्षी परियोजना ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ अन्तराष्ट्रिय सम्मेलनको मंगलबार ललितपुरमा आयोजित उद्घाटन कार्यक्रममा राजदूत होउले भनिन्, ‘चीनको विचारमा कोसौँ टाढाको देशले नेपाल–चीनसम्बन्धबारे नकारात्मक टिप्पणी गर्नु अनुचित हो ।’
राजदूत होउले चीनले आफ्नो भन्दा नेपालको स्वार्थलाई प्राथमिकतामा राखेर लगानी गरिरहेको चर्चा गर्दै कोसौं टाढाको मुलुकले नेपाल–चीन सम्बन्ध बिगार्न नखोजेकै राम्रो हुने बताइन् । उनले नेपालसहित दक्षिण एसियाली मुलुक भर्खरै विकासको चरणमा प्रवेश गरेको भन्दै अमेरिकाले उनीहरुले गरिरहेका विकासका कार्यलाई नकारात्मक असर पर्ने गरी बोल्नुभन्दा सहयोग गर्नु राम्रो हुने सुझाव दिइन् ।
प्रतिक्रिया