पाकिस्तानको बालाकोटमा भारतीय वायु सेनाले आक्रमण गरेको केही घण्टामै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भोट मागेका छन् ।राजस्थानको चुरुमा भएको एउटा आमसभामा मोदीले खुलेर यस पटकको चुनावमा आफूलाई जिताउन आग्रह गरेका छन् ।
पाकिस्तानी भूमिमा भारतीय वायु सेनाले बम खसालेको ठिक १० घण्टापछि मोदीले भने, तपाईँहरुको भोटबाटै दिल्लीमा एउटा शक्तिशाली सरकार बन्यो । त्यसको दम देखिँदैछ । तपाईँहरुको भोटले बीजेपीलाई अभ बलियो बनाउनेछ ।’
यसरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई महिनापछि हुने लोकसभा चुनावमा बालाकोटमा गरेको आक्रमणलाई भजाउने स्पष्ट संकेत दिएका छन् । साथै त्यसैलाई आधार मानेर उनले भोट पनि माग्ने छन् ।
भारत पाकिस्तानबीच युद्ध भए नेपाललाई कस्तो प्रभाव पर्छ ?
भारतीय प्रधानमन्त्री मोदीले कांग्रेस नेतृत्वको तत्कालीन यूपीए सरकारसँग आफ्नो सरकारको तुलना गर्दै एउटा बलियो सरकार र कमजोर सरकारबीचको अन्तर देखिएको पनि बताएका छन् ।‘बीजेपीलाई अझ बलियो बनाउनुहोस्’
मोदीले आफ्नो पूरा भाषणमा सर्जिकल स्ट्राइककै जोडतोडले चर्चा गरे । उनले भने, ‘म देशवासीहरुलाई विश्वास दिलाउन चाहन्छु कि देश सुरक्षित हातमा छ । आजको दिन मैले २०१४ मा गरेकै वाचालाई दोहोर्याउने दिन हो । आज चुरुका नागरिकको अगाडि भन्न चाहन्छु, ‘सपथ यो माटोको, मैले देशलाई मेटिन दिनेछैन । देशलाई रोकिन दिनेछैन । मैले देशलाई झुक्न दिनेछैन ।’
योभन्दा पहिले सन् २०१६ मा भारतीय सेनाले गरेको सर्जिकल स्ट्राइकलाई पनि मोदीले आमसभादेखि संसदसम्म नै प्रचारबाजी गरेका थिए । यतिमात्रै होइन, सर्जिकल स्ट्राइकमै आधारित चलचित्र ‘उरी’ को प्रमोसन निर्माताले भन्दा पनि बीजेपीले धैरै गरेको थियो ।
प्रधानमन्त्री मोदी आफै पनि केही सार्वजनिक कार्यक्रममा फिल्मको डायलग ‘हाउ इज द जोश’ उल्लेख गरेका थिए ।
पाकिस्तानमाथिको आक्रमणलाई भारतीय जनता पार्टी र नरेन्द्र मोदीले चुनावी एजेण्डा बनाउने कुरा पाकिस्तानी विदेशमन्त्री शाह मसूद कुरैशीले पनि बताएका थिए ।
पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले मंगलबार पत्रकार सम्मेलन गर्दै आफ्नो घरेलु आवश्यकता पूरा गर्न र नजिकिएको चुनावी माहोल आफ्नो पक्षमा पार्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्षेत्रीय सुरक्षालाई खतरामा धकेल्ने काम गरेको दाबी गरेका थिए ।
प्रतिक्रिया