Logo

प्रमुख समाचार

कानुन संशोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम



चितवन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अस्पष्ट कानुन संशोधन गरी लगानीमैत्री वातावरण निर्माण गर्ने बताएकी छन्।

चितवन उद्योग संघको ३५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री गौतमले कानुनी अस्पष्टताका कारण उद्योगी व्यवसायीले प्रशासनिक झन्झट बेहोर्नुपरेको उल्लेख गर्दै विद्यमान समस्या समाधानका लागि कानुनलाई समयसापेक्ष बनाइने बताइन्।

‘प्रशासनिक झन्झट त्यतिबेला आउँछ, जतिबेला कानुनहरू अस्पष्ट हुन्छन्,’ उनले भनिन्, ‘अस्पष्ट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान गर्न लागिपरेका छौँ।’

देशमा लगानीमैत्री वातावरण निर्माण गर्न सरकार निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै उनले त्यसका लागि आवश्यक पूर्वतयारी भइरहेको जानकारी दिइन्।

मन्त्री गौतमका अनुसार लगानीमैत्री कानुन निर्माण तथा विद्यमान कानुनमा आवश्यक सुधारका विषयमा हालै बृहत् कार्यशालासमेत सम्पन्न भइसकेको छ।

लगानीमैत्री कानुन निर्माणका लागि नीति निर्माता, कर्मचारीतन्त्र, निजी क्षेत्र र राजनीतिक क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा उनले जोड दिइन्।

सबै पक्ष एकै ठाउँमा उभिएर कानुनी सुधारको प्रक्रिया अघि बढाउन सके लगानीका लागि अनुकूल वातावरण बनाउन सकिने उनको भनाइ थियो।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार २०:१४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।