Logo

अर्थ

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने



काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३र८४ मा न्यूनतम समर्थन मूल्यमा १५ हजार मेट्रिक टन धान खरिद गर्ने भएको छ। धान खरिदका लागि सरकारले ६७ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय भइरहेको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निजी सचिवालयले खरिद प्रक्रिया सुरु भइसकेको जनाएको छ।

सरकारले आर्थिक वर्ष २०८३र८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ र मोटा तथा मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ८ सय ६० रुपैयाँ निर्धारण गरेको छ।

न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्दा किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने र बजारमा मूल्यको अनिश्चितता घट्ने मन्त्रालयको अपेक्षा छ।

यस व्यवस्थाले किसानलाई उत्पादन बिक्रीमा सहजता प्रदान गर्नुका साथै बजार मूल्यमा हुने उतारचढावबाट राहत पुग्ने सचिवालयले जनाएको छ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार २१:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।