Logo

स्वास्थ्य

सात स्थानमा प्लाज्माथेरापीको लागि रक्तसंकलन सुरू



नेपाल रेडक्रस सोसाइटीले कोभिड संक्रमितहरुको उपचार सहयोगार्थ प्लाज्मा थेरापीको लागि रगत संकलन शुरु गरेको छ  ।बुधबार केन्द्रीय कार्यालयमा ३९ वर्षका खिम वहादुर रानाभाटले प्लाज्मा थेरापीका लागि नेरेसो केन्द्रीय कार्यालयमा पहिलो रक्तदान  गरेका छन्  ।

कोरोना संक्रमण निको हुनुभएका तनहुँ  घर भई हाल काठमाडौं बस्दै आएका रानाभाटले अरुलाई पनि रक्तदानका लागि अनुरोध गर्दै भने , “मैले पहिले कहिल्यै रक्तदान गरेको थिइन । कोरोना संक्रमण निको भएपछि मेरो रगतले अरु संक्रमितलाई सहयोग पुग्छ भन्ने थाहा पाएर   रक्तदान गर्न आएको हुँ ।”

नेपाल सरकार, नेपाल स्वास्थ्य अनुसन्धान परिषद (NHRC) को अनुरोध बमोजिम विभिन्न संस्थाहरुसँगको सहकार्यमा नेपाल रेडक्रसले यो सेवा सुरु गरेको केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक डा. मनिता राजकर्णिकारले बताए ।

नेपाल रेडक्रस सोसाइटी र नेपाल मेडिकल एशोसिएसनबीच रगत संकलनमा सहकार्य गर्ने गरी सात बुँदे सम्झौता हिजै सम्पन्न भएको छ । बुधबार नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डाक्टर नेत्र तिमिल्सिना र मेडिकल एसोसिएसनका अध्यक्ष डाक्टर लोचन कार्कीले दाताहरुको नाम संकलन गरी प्लाज्मा बैंक स्थापनामा सहकार्य गर्दै अगाडी बढ्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरेको नेपाल रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए  ।

सम्झौताबमोजिम रेडक्रसले प्लाज्मा दानका लागि प्रविधिक जनशक्ति, प्लाज्मा ब्याग लगायत आवश्यक सामग्रीहरुको व्यवस्थापन तथा प्लाज्मा बैंकको स्थापना गर्नेछ । त्यसमा चिकित्सक संघले प्लाज्मा संकलनका लागि कोभिड १९ संक्रमिण भई निको भएका नागरिकहरु, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको विवरण संकलन गरी प्लाज्मा दान गर्न सरोकारवाला दाताहरुसँग समन्ययनकारी भुमिका निर्वाह गर्नेछ ।

रेडक्रसको समन्वयनमा प्लाज्मा दान  गर्ने दाताहरुको सम्मानका लागि आवश्यक तयारी गरिएको छ । दाता रानाभाटलाई महामन्त्री पीताम्बर अर्यालले सम्मानपत्र हस्तान्तरण गरेका थिए । सो अवसरमा नेरेसो अध्यक्ष डा. नेत्र तिम्सिनाले भने  ः  “समग्र रक्तसञ्चार सेवामा रेडक्रस एक्लो एक्टर होइन र कन्सोटियमको  अवधारणा लिई साझा दायित्व बहन गर्न सवै सरोकारवालाहरुलाई म अनुरोध गर्दछु ।”

कार्यक्रममा उपस्थित काठमाडौँ महानगरपालिका वडा नं. २५ का वडा अध्यक्ष निलकाजी शाक्यले रक्तदानका लागि वडामा बसोबास गर्ने  संक्रमण निको भएकाहरुको खोजी गर्ने र रक्तदानमा उत्प्रेरीत गर्ने कार्य  काठमाडौं महानगरपालिका वडा नं. २५ र २७ ले गरिरहेको जानकारी दिए ।  लायन्स क्लब ब्लडसर्कलले रक्तदान गर्नेहरुलाई उत्प्रेरणा र सम्मान गर्ने गरी समन्वय गरिएको पनि वडाध्यक्ष शाक्यले बताए  ।

सामाजिक दुरी कायम गरी आयोजना गरिएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका उपाध्यक्ष शर्मिला कार्की,  कोषाध्यक्ष सिताराम कोइरालासहित पदाधिकारी तथा सदस्य, कामु कार्यकारी निर्देशक सुर्दशन अधिकारी,नेपाल मेडिकल एशोसियसनका पदाधिकारी, रक्तसञ्चार विशेषज्ञ डाक्टर बिपिन नेपाल र लायन्स क्लबका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 

काठमाण्डौँ बाहिर सुरु भइसक्यो :

स्थानीय अस्पतालसँगको सहकार्यमा नेपाल रेडक्रसका सुनसरी, चितवन, भक्तपुर, बुटवल, नेपालगञ्ज, र कैलालीमा रहेका रक्तसञ्चार सेवाले प्लाज्मा थेरापीको लागि रक्तसंकलन सुरु गरिसकेका छन् । धनुषा  र पोखरामा पनि यस्तो सेवा छिटै सुरु गरिने निर्देशक पौडेलले जानकारी दिए  ।

प्लाज्मा थेरापीको लागि ६ पिन्ट संकलन गरेकोमा चारजना कोभिड विरामीलाई सो प्लाज्मा उपलव्ध गराइसकिएको धरानबाट किरण कार्कीले बताए  ।

त्यस्ता  कैलालीबाट इश्वर जोशीले दिएको जानकारी अनुसार कोभिड निको भएका त्यहाँ ६ जनाले रक्तदान गरेको र एक जना विरामीलाई चढाइसकिएको छ ।  रमेश पौडलका अनुसार चितवनमा चार पिन्ट रगत संकलन गरिएकोमा विरामीलाई दुई पिन्ट चढाइएको छ ।

भक्तपुरमा कोभिड निको भएका तीन जनाले रक्तदान गरेको र तीन पिन्ट नै रगत विरामीलाई चढाइएको मन्त्री परशुराम पाण्डेले जानकारी दिए  । त्यस्ता दाताहरुको घरमै गएर रक्तसंकलन गरिदै आइएको छ । नेपालगञ्जका रेडक्रस अधिकृत दोलख डाँगीका अनुसार चारजनाबाट संकलन गरिएको र त्यसमध्ये भेरी अस्पतालमा रहेका दुई विरामी र कोहलपुरका एक विरामीलाई सो रगत उपलव्ध गराइएको छ ।  विरामीको अवस्था सुधार भइरहेको पनि उहाँले जानकारी दिए  । 

प्लाज्मा थेरापी उपचारको प्रभावकारिता अहिले पनि अनुसन्धानकै क्रममा रहेको चिकित्सकहरुले बताएका छन् ।  प्लाज्मा दान गर्दा दाताहरुलाई कुनै पनि शारीरिक तथा मानसिक असरहरु नपर्ने चिकित्सक  संघले जनाएको छ ।  संघका अध्यक्ष डा. कार्कीले नागरिकहरुको जीवन रक्षा गर्ने पवित्र कार्यमा संलग्न हुन सरोकारवालाहरुलाई आग्रह गरे ।  

3 plasma donor.JPG4 blood collection.JPG

प्रकाशित मिति : भाद्र २६, २०७७ शुक्रबार  २ : ४९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।