Logo

प्रमुख समाचार

कमल थापा भन्छन् : हिन्दूराष्ट्र पुनःस्थापना गरेरै छोड्छौँं



राष्ट्रिय प्रजातन्त्र पार्टीले मेची–महाकाली राष्ट्रिय अभियान शुरु गरेको छ। पूर्वको ताप्लेजुङमा बुधबार अध्यक्ष कमल थापाले मेची–महाकाली राष्ट्रिय अभियानको उद्घाटन गरेका हुन्।

अभियानको उद्घाटन गर्दै अध्यक्ष थापाले आफूहरुको यात्रा कुनै पनि धर्म, संस्कृति र सम्प्रदायविरुद्ध नभएको बताएका छन्। उनले माओवादीको सशस्त्र युद्ध र जनआन्दोलनको पृष्ठभूमिमा हिन्दूराष्ट्रको पहिचान मेटाउने काम भएको भन्दै यसलाई पुनःस्थापना गर्नुपर्नेमा जोड दिए। पछिल्लो समय जनताले परिवर्तनको अनुभूति गर्न नपाएको बताउँदै राप्रपा देश बनाउने अभियानका साथ अघि बढेको दाबी गरे।

राप्रपाले पाथिभरा मन्दिरमा गएराति पाथिभर मन्दिरमा अनुष्ठानको आयोजना समेत गरेको थियो। बुधबार दिउँसो तीन बजे नै पाँचथर सदरमुकाम फिदिममा आमसभा हुने पार्टी महामन्त्री राजेन्द्र लिङदेनले जानकारी दिए।

राजसंस्थासहितको सबै शक्तिहरु अटाउने, नेपाली संस्कृतिको मौलिक प्रजातन्त्र कायम गर्न गोलमेच सम्मेलनको माग गर्दै राप्रपाले १५ दिने अभियान शुरु गरेको हो। राष्ट्रिय स्वाभिमान मेची–महाकाली अभियानका क्रममा ३६ जिल्लामा १ सय भन्दाबढी स्थानमा राप्रपाले सभाको आयोजना गर्ने जनाएको छ।

अभियानका क्रममा राप्रपाले भोलि (बिहीवार) झापाको बिर्तामोडमा वृहत्त शक्ति प्रदर्शन गर्ने भएको छ। २ हजार ८ सय ७ किलोमिटर दूरीको यात्राका क्रममा स्थानअनुसारको संस्कृति र भेषभुषा झल्कने गरी संस्कृति एवं झाँकी समेत प्रदर्शन हुने राप्रपाले जनाएको छ।

ताप्लेजुङबाट शुरु भएको यात्रा कञ्चनपुरबाट कास्की, तनहुँ हुँदै काठमाडौंमा आएर फागुन ३० गते सम्पन्न हुनेछ। हरेक सभालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति : फाल्गुन १५, २०७५ बुधबार  ७ : १८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।