Logo

समाज

दसैँ बिदामा पनि काठमाडौं जिल्ला अदालत खुला रहने



काठमाडौं । विजया दशमीको अवसरमा सार्वजनिक बिदा भए पनि काठमाडौँ जिल्ला अदालत निश्चित समयका लागि खुल्ला रहने भएको छ । काठमाडौँ जिल्ला अदालत बबरमहलले एक सूचना जारी गर्दै दसैँ बिदाको अवधिमा पनि तोकिएका अत्यावश्यक सेवाहरू प्रवाह गरिने जनाएको हो ।

काठमाडौं जिल्ला अदालतले शुक्रबार जारी गरेको सूचनाअनुसार घटस्थापना, शनिबार, फूलपाती र विजयादशमीको टीकाको दिनबाहेक अन्य दिन अदालत खुला रहनेछ ।

अदालतले असोज २५ गतेदेखि कात्तिक ८ गतेसम्म अदालत बन्द रहने भए पनि तोकिएका केही दिनमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सेवा सञ्चालन गर्ने जनाएको छ ।

दसैँ बिदामा अदालतबाट प्रवाह हुने सेवाहरू:
बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गर्ने,
जरुरी पक्राउ पुर्जी समर्थन र सो समर्थनसँगै उपस्थित अभियुक्तहरूको म्याद थप गर्ने,
कल डिटेल्स (CDR) अनुमति प्रदान गर्ने,
पक्राउ अनुमति प्रदान गर्ने,
धरौटी दाखिल गर्न नसकी थुनामा राख पठाइएका प्रतिवादीहरूबाट धरौटी रकम दाखिल गर्न ल्याएमा बुझिदिने,
फैसला बमोजिम ठहर भएको जरिवाना रकम तिरी छुट्ने भएमा जरिवाना रकम बुझिदिने,
अदालतले दसैँको बिदाका समयमा पर्न सक्ने अत्यावश्यक कानुनी प्रक्रियालाई सहज बनाउन प्रशासन शाखामार्फत यो प्रबन्ध मिलाएको जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार १२:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।