काठमाडाैं । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्राले विद्युतीय तथा इलेक्ट्रोनिक उपकरणबाट निस्कने फोहोर अर्थात् ‘ई–वेस्ट’ व्यवस्थापनका लागि नेपालमै रिसाइक्लिङ उद्योग स्थापना गर्नुपर्ने बताएका छन्।
राजधानीमा आयोजित ई–वेस्टसम्बन्धी संवाद कार्यक्रममा बोल्दै मल्होत्राले मोबाइल फोन, ब्याट्री, कम्प्युटर तथा अन्य विद्युतीय उपकरण प्रयोगपछि जथाभावी फाल्ने प्रवृत्ति निरुत्साहित गर्दै व्यवस्थित सङ्कलन, वर्गीकरण, प्रशोधन र पुनःप्रयोगको प्रणाली विकास गर्नुपर्ने बताए।
उनले ई–वेस्ट विश्वव्यापी रूपमा गम्भीर वातावरणीय चुनौती बन्दै गएको उल्लेख गरे। सन् २०२२ मा विश्वभर करिब ६२ मिलियन टन ई–वेस्ट उत्पादन भएको तथ्य प्रस्तुत गर्दै उनले यसको ठूलो हिस्सा अझै व्यवस्थित रूपमा सङ्कलन र पुनःप्रयोग हुन नसकेको बताए।
नेपालमा पनि मोबाइल, ब्याट्री, कम्प्युटर तथा अन्य विद्युतीय उपकरणको प्रयोग तीव्र रूपमा बढिरहेको भन्दै मल्होत्राले ती सामान प्रयोगपछि कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अहिलेबाटै प्रभावकारी प्रणाली बनाउनुपर्नेमा जोड दिए।
उनका अनुसार सस्तो मूल्यका तर छोटो समयमै बिग्रिने उपकरणको बढ्दो प्रयोगले ई–वेस्टको मात्रा अझ बढाउन सक्छ। त्यसैले गुणस्तरीय र लामो समय टिक्ने विद्युतीय उपकरणको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ।
मल्होत्राले नेपालमै ई–वेस्ट प्रशोधन तथा रिसाइक्लिङ उद्योग स्थापना गर्न सके वातावरण संरक्षणसँगै रोजगारी सिर्जना, औद्योगिक विकास र आयात प्रतिस्थापनमा समेत योगदान पुग्ने बताए।
ई–वेस्टभित्र रहेका प्लास्टिक, धातु तथा अन्य उपयोगी सामग्री छुट्याएर पुनःप्रयोग गर्न सकिने उल्लेख गर्दै उनले त्यसबाट नयाँ उत्पादनका लागि आवश्यक कच्चा पदार्थ प्राप्त गर्न सकिने बताए। यस्तो अभ्यासले आयातित कच्चा पदार्थमाथिको निर्भरता कम गर्नसमेत सहयोग पुग्ने उनको धारणा छ।
विशेषगरी मोबाइल फोन तथा अन्य उपकरणमा प्रयोग हुने ब्याट्रीको सुरक्षित व्यवस्थापनमा ध्यान दिनुपर्ने उनले बताए। ब्याट्रीबाट उपयोगी सामग्री पुनःप्राप्ति गर्ने प्रविधि विकास गर्न सके त्यस्ता सामग्रीलाई वैकल्पिक ऊर्जा प्रणाली तथा अन्य औद्योगिक प्रयोजनमा प्रयोग गर्न सकिने सम्भावना रहेको उनको भनाइ छ।
मल्होत्राले सरकारले ई–वेस्ट व्यवस्थापनलाई प्राथमिकतामा राख्दै निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताए। ई–वेस्ट सङ्कलन, प्रशोधन र पुनःप्रयोगका लागि स्पष्ट नीति, आवश्यक लगानी र उद्योगमैत्री वातावरण तयार गर्न सके यस क्षेत्रलाई नयाँ औद्योगिक अवसरका रूपमा विकास गर्न सकिने उनले बताए।
नेपालमा ई–वेस्ट व्यवस्थापनसम्बन्धी उद्योग स्थापना भए वातावरणीय प्रदूषण न्यूनीकरण, स्रोत–साधनको अधिकतम उपयोग, आयात प्रतिस्थापन र रोजगारी सिर्जनामा महत्वपूर्ण सहयोग पुग्ने उनको विश्वास छ। उनले ई–वेस्टलाई केवल फोहोरका रूपमा नभई पुनःप्रयोग गर्न सकिने स्रोतका रूपमा हेर्नुपर्नेमा जोड दिँदै यसको दिगो व्यवस्थापनका लागि सरकार, निजी क्षेत्र र उपभोक्ताबीच सहकार्य आवश्यक रहेको बताए।




















प्रतिक्रिया