Logo

अर्थ

स्वीकृतिबिनै इन्टरनेट प्याकेज सञ्चालन गर्ने ६ सेवा प्रदायकलाई ५० हजार जरिवाना



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृतिबिना इन्टरनेट सेवा प्याकेज सञ्चालन गरेको भन्दै ६ वटा सेवा प्रदायकलाई जनही ५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ।

प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिअनुसार अनुमतिपत्रका सर्तविपरीत कार्य गरेको पाइएपछि दूरसञ्चार ऐन, २०५३ को दफा ४७(१) बमोजिम जरिवाना गर्ने निर्णय गरिएको हो।

प्राधिकरणको निर्णयअनुसार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, आई. जोन प्रालि, चित्रवन युनिक नेट प्रालि, स्काइ ब्रोडब्याण्ड प्रालि, सजिलो नेट प्रालि र कनेक्ट नेपाल नेटवर्क प्रालिलाई कारबाही गरिएको हो। प्राधिकरणले स्वीकृति नलिई सञ्चालन गरिएका इन्टरनेट सेवा प्याकेजका शुल्क तत्काल बन्द गर्न र सोको जानकारी प्राधिकरणलाई गराउन सम्बन्धित सेवा प्रदायकलाई निर्देशन दिएको छ।

त्यस्तै, उक्त कार्यबाट कुनै ग्राहकलाई हानि–नोक्सानी पुगेको भए सम्बन्धित ग्राहकले माग गरेमा नोक्सानीको बिगो वा सोबापतको क्षतिपूर्ति उपलब्ध गराउनसमेत प्राधिकरणले निर्णय गरेको छ।

प्राधिकरणले अनुमतिपत्र प्राप्त सम्पूर्ण दूरसञ्चार सेवा प्रदायकलाई सेवा प्याकेज तथा शुल्क लागू गर्नुअघि अनिवार्य रूपमा स्वीकृति लिन निर्देशन दिएको छ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार १६:०९   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।